श्रमिकको ज्याला बढाउँदै सरकार, १७ हजार तीन सय पाइरहेका मजदुरको अब कति पुग्ला पारिश्रमिक ?

1.6k
Shares

काठमाडौं । सरकारले श्रमिकको ज्याला बढाउने कार्यायोजना अगाडि सारेको छ । आगामी एक वर्ष भित्रमा मुद्रास्फीति (महंगीदर)को आधारमा ज्यालादर पुनरावलोकन गर्ने कार्यायोजनालाई जेठ ६ गते वसेको मन्त्रिपरिषदको वैठकले स्वीकृत गरेको छ ।

सरकारले रामेश्वर खनाल संयोजकत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने कार्यायोजना स्वीकृत गर्दा श्रमिकको ज्याल पुनरावलोकन गर्ने उद्घोष गरेको छ ।

उक्त कार्ययोजना अनुसार आगामी एक वर्षभित्रै मजदुरको ज्याला पुनरावालोकन गर्ने उल्लेख छ । हाल श्रमिकको पारिश्रमिक १७ हजार तीन सय रुपैयाँ छ । श्रमिकले पाउने यस्तो न्यूनतम पारिश्रमिकमा १० हजार ८२० रुपैयाँमा ६ हजार ४८० महंगी भत्ता जोडिएको हुनछ ।

केन्द्रीय श्रम सल्लाहकार परिषद्ले श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने विषयमा ६ महिना अगाडि नै निर्णय गरिसकेको छ । उक्त निर्णयलाई श्रम रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले ग्रहणसमेत गरिसकेको छ ।

श्रम ऐन २०७४ को दफा १०७ ले हरेक दुई–दुई वर्षमा श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । यस पटक कर्मचारीको तलव बढाउने बेला भएको र सरकारले न्यूनतम १० प्रतिशत बढाउने गृहकार्य भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कर्मचारीको तलबसँगै श्रमिकको पनि परिश्रमिक बढाउनुपर्ने बेला भएकोले यसै पटक सरकारले सबैलाई खुशी पार्न ज्याला बढाउन खोजेको उल्लेख छ । सरकारले श्रमिकको तलव बढाएर बजारमा महंगीको दर अनुसार समायोजना गर्ने पनि उल्लेख छ ।

सरकारले यस अघि २०८० साउन १ देखि लागू हुने गरी चियाबगानबाहेक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय तोकिएको थियो । यसमा आधारभूत पारिश्रमिक १० हजार ८ सय २० र महँगी भत्ता ६ हजार ४ सय ८० पुर्‍याएको थियो ।

श्रमिकको प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ छ । यसमा आधारभूत ज्याला ५६ रुपैयाँ र महँगी भत्ताबापत ३३ रुपैयाँ श्रमिकले पाउँछन् । आंशिक रूपमा काम गर्ने श्रमिकको प्रतिघण्टा आधारभूत पारिश्रमिक ९५ रुपैयाँ छ ।