
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार भएको दाबी गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद आलेले विमानस्थलको प्रारम्भिक लागत १४५ मिलियन अमेरिकी डलरबाट एक्कासि २१६ मिलियन डलर पुर्याइएको र त्यसअन्तर्गत ७१ मिलियन डलर खुलमखुला भ्रष्टाचार गरिएको दाबी गरे।
उनका अनुसार विमानस्थलको फ्लाइट प्रोसीजर डिजाइनको माग गर्दा २०२२ नोभेम्बरसम्मको मात्र कागजात प्राप्त भएको छ, जबकि २०१७ को महत्वपूर्ण डिजाइन हालसम्म उपलब्ध गराइएको छैन। उनले अर्थ मन्त्रालयबाट करसम्बन्धी विवरणसमेत प्राप्त नभएको गुनासो गरे।
‘हामीले कागजात माग्दा पूर्ण विवरण नपाइरहेका छौं। सार्वजनिक लेखा समिति दिनप्रतिदिन कमजोर बन्दै गएको हो कि भन्ने आशंका पैदा भएको छ,’ सांसद आलेले भने।
उनले सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै वार्तामार्फत ठूलो रकम खर्च गरिएको भन्दै आपत्ति जनाए। ‘गाउँपालिकाले विदेशी लगानीका लागि ५० लाख रुपैयाँ ल्याउँदा समेत खरिद ऐन पालना गर्नुपर्छ, तर पोखरा विमानस्थलमा भने १० अर्बभन्दा बढी रकम वार्ताबाट खर्च गरिएको छ,’ उनले थपे।
सांसद आलेले पोखरामा भ्रष्टाचारको ‘ट्रेलर’ देखिएको उल्लेख गर्दै मुख्य ‘फिल्म’ अब भैरहवामा देखिने चेतावनीसमेत दिए।








प्रतिक्रिया