यस वर्षको मनसुन सरदरभन्दा बढी हुने अनुमान, गर्मीसमेत चर्को हुँदै


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा देशभर औसतभन्दा बढी वर्षा र चर्को गर्मी हुने प्रक्षेपण गरेको छ।

बुधबारर ललितपुरमा आयोजित ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा विभागका वरिष्ठ मौसमविद्हरूले यो आकलन सार्वजनिक गरेका हुन्। विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार यो वर्षको मनसुन अवधिमा अधिकांश स्थानहरूमा सामान्यभन्दा बढी वर्षा र तापक्रम मापन हुने सम्भावना छ।

उनका अनुसार देशभर वर्षा दर ३५ देखि ६५ प्रतिशतको दायरामा बढी हुन सक्ने देखिएको छ। स्थानअनुसार यो अनुपात फरक हुने भए पनि औसत दरभन्दा माथि रहने अनुमान छ। यस्तै, अधिकतम र न्यूनतम तापक्रमसमेत औसतभन्दा बढी हुने सम्भावना रहेको पोख्रेलले जानकारी दिए।

‘मनसुन अवधिभर वर्षा मात्र होइन, अधिकतम र न्यूनतम तापक्रम दुवै औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ,’ पोख्रेलले भने।

वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको सन्दर्भमा वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुनमा हुने भएकाले विपद् जोखिम उच्च रहने बताइन्।

‘१२ महिनामा हुने कुल विपद् मध्य ४० प्रतिशत जति मनसुन अवधिमै हुने गरेका छन्,’मानन्धरले भनिन्, मनसुन सुरु हुनु पूर्व नै तयारी अवस्थामा रहन सकेमा पहिरो, बाढी र अन्य प्राकृतिक विपद्बाट हुने जनधनको क्षति घटाउन सकिन्छ।’

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको समयलाई मनसुन अवधि मानिन्छ। विभागका अनुसार प्रत्येक वर्ष मनसुन अवधिमा करिब ३०० जनाको ज्यान जानुका साथै २० करोड अमेरिकी डलरभन्दा बढीको क्षति हुने गरेको छ।