
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता पश्चिम एसिया (मिडल ईस्ट) का तीन मुलुक साउदी अरब, कतार र संयुक्त अरब अमिरातको भ्रमण गरेपछि त्यो अत्यन्तै सफल भएको भनेर हौवा चलाइएको छ ।
भ्रमणमा ट्रम्पले १०० खर्ब डलर बराबरको व्यापार सम्झौता गरेको, विश्वका मामिलामा हस्तक्षेप गर्ने अमेरिकी नीति परित्यागको घोषणा गरेको, पश्चिम एसियाका सम्बन्धमा अमेरिकी विदेशनीतिमा आमूल परिवर्तन ल्याएको कारणले गर्दा यो ऐतिहासिक भ्रमण भएको भनी ट्रम्पका समर्थकहरू दाबी गरिरहेका छन् ।
वास्तविकता त्यही हो कि फरक छ ? यसका बारेमा यहाँ विश्लेषणको प्रयास गरिएको छ ।
ट्रम्पले १०० खर्ब डलर बराबरको व्यापार सम्झौता गरेको भन्ने दाबी आफ्ना समर्थकलाई रिझाउने प्रयास मात्र हो । यो दाबी हास्यास्पद मात्र नभई निकट भविष्यमा यस्तो सम्झौता हुन असम्भव पनि छ ।
साउदी अरबको कुल गार्हस्थ्य उत्पादन जम्मा १० खर्ब डलर छ, त्यस्तै संयुक्त अरब अमिरातको ५३० अर्ब डलर र कतारको २२० अर्ब डलर छ । यी तीनैवटा मुलुकले आगामी ६ वर्षमा अमेरिकामा १०० खर्ब डलर बराबरको नयाँ लगानी गर्नका लागि त आफ्नो सबै बजेट सक्नुपर्ने हुन्छ ।
एकछिनलाई मानौं, उनीहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत खर्च गरे । त्यो भनेको पनि वर्षको १७० अर्ब डलर मात्र हुन्छ । यही हिसाबमा ट्रम्पको कार्यकालभरि उनीहरूको लगानी लगभग ६०० अर्ब डलर हुन जान्छ ।
तर ट्रम्पलाई आफ्ना समर्थकहरूमाझ महान नेताको छवि बनाउनुछ । त्यसैले उनले ६०० अर्ब डलरलाई १०० खर्ब डलर भनेर हल्ला चलाए ।
वास्तवमा पश्चिम एसियाका मुलुकहरूले ट्रम्पशासित अमेरिकामा लगानी गर्नुमा अमेरिकाले प्रदान गर्ने सैन्य सुरक्षा एक मात्र कारण हो । त्यो सुरक्षा दिएबापत अमेरिकाले पश्चिम एसियालीहरूसँग पैसा उठाउने गरेको छ । यो ठ्याक्कै माफियाको जस्तो हर्कत हो ।

सन् २०१० मा भएको अरब क्रान्तिले पश्चिम एसियाली शासकहरूको मुटु हल्लाएको थियो । उनीहरूको एकछत्र शासनलाई चुनौती दिएको त्यस क्रान्तिलाई अमेरिका नेतृत्वको पश्चिमले फन्डिङ गरेको थियो । अझै पनि त्यस्तो क्रान्तिको सम्भावना छ है भनी तर्साएर अमेरिकाले पश्चिम एसियालाई तेल र ग्यासबाट प्राप्त मुनाफा अमेरिकामा लगानी गर्न लगाइरहेको छ ।
अमेरिकाका सबै राष्ट्रपतिहरूले यसैगरी पश्चिम एसियालाई धुत्दै आइरहेका हुन् तर उनीहरूले कूटनीतिक र मर्यादित भाषाशैली प्रयोग गर्थे । ट्रम्प चाहिँ यसलाई कूटनीतिको आवरण दिन चाहँदैनन् र ठाडै बोल्छन् । उनले भने, ‘साउदी अरब, यूएई, कतार यी सबै मुलुकहरूलाई हामीले सहयोग गरेका छौं । हामीले उनीहरूलाई सुरक्षित बनाएका छौं । हामी नभएको भए उनीहरूको अस्तित्व अहिले शायद रहँदैनथियो ।’
त्यसैले गर्दा साउदीहरूले अमेरिकाको हतियार किन्नका लागि १४२ अर्ब डलर खर्च गर्न सहमति जनाएका हुन् । त्यस्तै कतारीहरूले ९६ अर्ब डलर बराबरका अमेरिकामा बनेका २१० वटा बोइङ विमान किन्ने भएका हुन् । बोइङको इतिहासमा कुनै एक ग्राहकले गरेको त्यो सबभन्दा ठूलो खरिद थियो ।
अमेरिकी संविधानको धारा १ को उपधारा ९ ले राष्ट्रपति लगायतका संघीय अधिकारीहरूलाई विदेशी मुलुकबाट कुनै पनि व्यक्तिगत उपहार लिन नपाइने व्यवस्था गरेको छ । तर अरब मुलुकहरूले ट्रम्पलाई टन्न उपहार दिएर खुशी बनाए ।
कतारले ४० करोड डलर बराबरको विलासी विमान ट्रम्पलाई सित्तैमा दियो । उक्त उपहारको कागजातमा अमेरिकाकी महान्यायाधिवक्ता पाम बोन्डीले हस्ताक्षर गरेकी छन् र विगतमा उनलाई कतारी एजेन्टका रूपमा अमेरिकी सरकारले सूचीकृत गरेको थियो । यसका विषयमा अमेरिकामा हल्लीखल्ली भए पनि ट्रम्पलाई त्यसले कुनै क्षति पुर्याएन ।
त्यस्तै साउदी अरबले ट्रम्पका छोरीज्वाइँ जारेड कुशनरको निजी कम्पनी एफिनिटी पार्टनर्समा मा २ अर्ब डलर बराबरको लगानी गरेको छ । अरबी नेताहरूले आफ्नो मुलुकमा ट्रम्प टावर र गल्फ कोर्सहरू बनाउन ट्रम्पलाई निमन्त्रण गरेका छन् ।
कतारले अमेरिकामा आफ्नो प्रभाव कायम गर्नका लागि अर्बौं डलर खर्च गरिरहेको छ । उसले अमेरिकी राजनीतिकर्मी, पत्रकार, थिंकट्यांक, विश्वविद्यालय, पैरवीकर्ता र वकिलहरूमाथि लगानी गरेर आफूअनुकूल नीति बनाउन प्रयास गरिरहेको हो । अमेरिकी राजनीतिमा भ्रष्टाचार व्याप्त छ भन्ने कुराको प्रमाण यसबाट पाइन्छ । ट्रम्पको शासनमा त त्यस्तो भ्रष्टाचारले सीमा नाघ्न थालेको छ ।
ट्रम्पको बेहोरा हेर्दा त यसलाई घूस खाएको भन्ने कि अरबीहरूसँग असुलेको भन्ने ?
यस भ्रमणमा ट्रम्पले साउदी अरबको राजधानी रियादमा आयोजित साउदी–अमेरिका इन्भेस्टमेन्ट फोरममा दिएको भाषण प्रशंसायोग्य थियो । उनले नवअनुदारवादी र साम्राज्यवादीहरूको आलोचना गर्दै अमेरिकाले कसैलाई पनि ‘यस्तै किसिमको जिन्दगी बाँच्नुपर्छ’ भनी लेक्चर नदिने बताए । उनले त्यसो भन्दा लामो समयसम्म तालीको आवाज सुनिएको थियो ।
उनले अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशबाट अफगानिस्तान र इराकमा चालिएको विनाशकारी कदमलाई संकेत गर्दै भने, ‘अर्काको देश बनाउँछु भनेर हिँडेकाहरूले बनाउनुभन्दा बढी बिगारे । हस्तक्षेपकर्ताहरूले नबुझिकनै जटिल समाजहरूमा हस्तक्षेप गरे ।’
ट्रम्पले पश्चिम एसियालाई आफ्नो भाग्यरेखा आफैं कोर्नका लागि आग्रह गरे । पश्चिम एसिया अब अव्यवस्थाको साटो वाणिज्य व्यापार अनि आतंकवादको साटो प्रविधिबाट परिभाषित हुनुपर्ने उनको भनाइ थियो । एकअर्कालाई बम हानेर ध्वस्त पार्नुको साटो विभिन्न मुलुक, धर्म र सम्प्रदायका मानिसले मिलेर शहरहरू बनाउनुपर्ने उनले बताए ।
तर ट्रम्पको यो कुरा कोरा भाषण मात्र हो किनकि विश्वमा जति धेरै अव्यवस्था भयो, अमेरिकाले त्यति धेरै खेल्ने अवसर पाउँछ । आफ्नो हतियार बेच्नका लागि पनि उसलाई विश्वका विभिन्न भागमा युद्ध जरूरी हुन्छ ।
आफ्नो भाषणमा ट्रम्पले इरानलाई पश्चिम एसियाकै सबभन्दा विनाशकारी शक्ति भनी झूटो आरोप लगाए । तर त्यससँगै उनले थपे, ‘म स्थायी शत्रु बनाउने कुरामा विश्वास गर्दिनँ । म यहाँ इरानका लागि थप आशालाग्दो भविष्य सुनिश्चित गर्न खोजिरहेको छु।’
इरानसँग सुमधुर सम्बन्ध बनाएका कतारका राजासँग पनि ट्रम्पले सम्झौताका लागि सहयोग खोजे ।
त्यसो त इरानीहरू पनि अमेरिकासँग सम्झौता गर्न आतुर छन् । इरानले आणविक हतियार नबनाउने र युरेनियम संवृद्धि नगर्ने शर्तमा अमेरिकाले इरानमाथि लगाएका सबै प्रतिबन्ध फुकुवा गर्ने सम्झौताका लागि प्रयास भइरहेको छ ।
यही कुरा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले १० वर्षअघि गरेका हुन् तर अन्य कुनै कारण नभई ओबामाको रिसकै कारण ट्रम्पले आफ्नो कार्यकालमा त्यस सम्झौतालाई धुजाधुजा बनाएका थिए ।
अरबी नेताहरूले ट्रम्पलाई विमानस्थलमै लिन गएर भव्य स्वागत गरिरहँदा इजरायलले गाजामा प्यालेस्टाइनीहरूमाथि क्रूर ढंगले बम बर्साइरहेको थियो । अहिले प्यालेस्टाइनमा २० लाखभन्दा बढी बालबालिका, महिला र पुरुषलाई इजरायलले खाद्यान्न समेत लग्न नदिएर भोकभोकै बस्न बाध्य बनाइरहेको छ । यस्तो अमानवीय गतिविधि भइरहँदा अरब मुलुकका धनी नेताहरू ट्रम्पसँग लोलोपोतो गरिरहेका थिए जबकि अमेरिका नै प्यालेस्टाइनी नरसंहार गर्ने इजरायलको सबभन्दा ठूलो समर्थक हो ।
प्यालेस्टाइनीहरूप्रति कुनै पनि सहानुभूति नदेखाएका र मानवीयता समेत प्रदर्शन नगरेका ट्रम्पले गाजा हात पारेर त्यसलाई भोगविलास गर्ने क्षेत्र बनाउने घोषणा गरेका छन् ।
तर यूएईमा रहँदा ट्रम्प एउटा मस्जिद जान भ्याए । शायद मुसलमानहरूलाई उनी गाजामा भइरहेको नरसंहार अमेरिकाको विदेशनीतिको एक हिस्सा मात्र हो, आफू त मुसलमानहरूलाई सम्मान गर्ने व्यक्ति हो भनी सन्देश दिन चाहन्थे । तर अमेरिकीहरूलाई इस्लामले घृणा गर्ने गरेको भन्दै उनले आफ्नो पहिलो कार्यकालमा मुसलमानलाई अमेरिका आउन रोक लगाउने र अमेरिकामा रहेका मस्जिदहरू बन्द गर्ने प्रस्ताव गरेका थिए ।
जसरी भए पनि आफ्नो देश जोगाउनुपर्ने भूराजनीतिको पहिलो नियम हो किनकि तपाईंको मुलुक ध्वस्त भयो वा मुलुकको शासकको हत्या गरियो वा अपदस्थ गरियो भने तपाईंले केही पनि हासिल गर्न सक्नुहुन्न।
यसरी हेर्दा साउदी अरबका युवराज मोहम्मद बिन सलमान र यूएईका मोहम्मद बिन जायेद निकै बाठा नेता हुन् । आफ्नो मुलुकलाई समृद्ध बनाउनका लागि उनीहरूले महत्त्वाकांक्षी लक्ष्य लिएका छन् । उनीहरूलाई विश्व क्रमशः बहुध्रुवीय बन्दै गइरहेको कुरा पनि थाहा छ ।
साउदी अरबमा अचेल बालबालिकालाई सरकारी विद्यालयमा चिनियाँ भाषा सिकाउन थालिएको छ । बिन सलमानलाई चिनियाँ युआन लिएर आफ्नो तेल बेच्न हतारो छ । साउदी अरबले ब्रिक्सको सदस्य बन्नका लागि निवेदन दिएको छ तर अमेरिकाले उसलाई ब्रिक्सको पूर्ण सदस्य नबन्नका लागि दबाब दिइरहेको छ।
तर यी अरब मुलुकहरूमा अमेरिकी सेनाका अड्डाहरू छन् । त्यस्तै, अरबीहरूको टन्न पैसा अमेरिकी कम्पनीहरूमा लगानी भएको छ ।
त्यसैले उनीहरू विश्वको भूराजनीतिक मञ्चमा आफ्नो भूमिका सामान्य रूपमा निर्वाह गरिरहेका छन् र अमेरिकी साम्राज्यको अन्त्यको कामना गरिरहेका छन् ।
गत साता ट्रम्पले गरेको पश्चिम एसियाको भ्रमणले अमेरिकी नीतिमा तात्त्विक अन्तर ल्याउने छैन । ट्रम्पले आफूलाई शान्तिप्रिय व्यक्ति भनी चित्रित गरे पनि उनको दोस्रो कार्यकालमा दक्षिण चीन सागरमा चीनसँग युद्ध हुने सम्भावना प्रबल छ
ट्रम्प पूर्णरूपमा व्यापारिक सोच भएका नेता हुन् र उनलाई राज्यसञ्चालन, भूराजनीति वा इतिहासको केही जानकारी छैन । कसरी आफूलाई धेरै र अमेरिकालाई अलिअलि फाइदा हुन्छ भन्ने कुरामै उनको ध्यान केन्द्रित छ । ट्रम्पको यो कमजोरीलाई अरबीहरूले राम्ररी बुझेको भएर खातिरदारी गरेका हुन् ।
वास्तवमा ट्रम्पले अमेरिकी साम्राज्यको विस्तारवादी नीतिमा आमूल परिवर्तन ल्याउन सक्दैनन् । उनले अमेरिकी सेनाको बजेट आधाले घटाउने र नेशनल इन्डाउमेन्ट अफ डेमोक्रेसी जस्तो विदेशको सरकार परिवर्तनमा योगदान गर्ने संस्थालाई बन्द गर्ने धम्की दिएका थिए । तर उनी त्यसमा अडिन सकेनन्।
उनले पश्चिम एसिया वा विश्वका अन्य कुनै पनि भूभागमा एउटा पनि अमेरिकी सैन्य अड्डा बन्द गर्न सक्दैनन् । अनि इरानसँग उनले सम्झौता गरेछन् भने पनि त्यसले स्थायी शान्ति ल्याउने छैन । त्यसका दुईवटा कारण छन् ः पहिलो, त्यस अवस्थामा इजरायलले पश्चिम एसियामा रजगज गर्न पाउने छैन र अमेरिकाको बलियो इजरायली खेमाले कुनै हालतमा त्यसो गर्न दिने छैन । दोस्रो, अमेरिकी साम्राज्य बाँचेकै अव्यवस्था र ध्रुवीकरणमा खेल्न पाएर हो । भनाइको मतलब, पश्चिम एसियामा शान्ति छायो भने अमेरिकी साम्राज्यको अस्तित्व नै संकटमा पर्छ ।
त्यसैले गत साता ट्रम्पले गरेको पश्चिम एसियाको भ्रमणले अमेरिकी नीतिमा तात्त्विक अन्तर ल्याउने छैन । ट्रम्पले आफूलाई शान्तिप्रिय व्यक्ति भनी चित्रित गरे पनि उनको दोस्रो कार्यकालमा दक्षिण चीन सागरमा चीनसँग युद्ध हुने सम्भावना प्रबल छ ।








प्रतिक्रिया