
एजेन्सी । भारत र पाकिस्तानबीचको तनाव थप बढ्दै गएको छ । बिहीवार दुबै देशहरूले एक-अर्काविरुद्ध कारबाहीको दावी गरेका छन्।
बिहीवार भारतका रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा सर्वदलीय बैठक बसेपछि केन्द्रीय मन्त्री किरन रिजिजुले भने, ‘अपरेशन सिन्दूर चलिरहेको कारबाही हो ।’
त्यसपछि बिहीवार रात भारतले जम्मु, पठानकोट र उधमपुरका सैनिक क्याम्पमा पाकिस्तानले आक्रमण गर्यो, जसलाई असफल बनाइएको दाबी भारतको छ ।
पाकिस्तानका रक्षा मन्त्रीले भने आक्रमण भएको दाबी अस्वीकार गरेका छन्।
भारतको रक्षा मन्त्रालयले ‘विश्वसनीय सूचनाका आधारमा लाहोरमा एक एयर डिफेन्स सिस्टम नष्ट गरिएको’ दावी गरेको छ।
पाकिस्तानले भने भारतका २५ वटा ड्रोन खसालिएको दाबी गरेको छ। यस्ता दावीहरूलाई बीबीसीले स्वतन्त्ररूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।
छिमेकी देशहरूको प्रतिक्रिया
बीबीसीले भारत-पाकिस्तानबीचको तनावमा छिमेकी देशहरूको सम्भावित धारणा बुझ्न केही विज्ञहरूसँग कुराकानी गरेको छ।
मिडिल ईस्ट इन्साइट्स प्लेटफर्मकी संस्थापक डा. शुभदा चौधरी भन्छिन्, ‘भारत र पाकिस्तानका छिमेकी देशहरूमा सामाजिक–आर्थिक रूपमा कमजोर वर्गको संख्या धेरै छ । संघर्ष लामो समयसम्म चल्यो भने तिनीहरू नै बढी प्रभावित हुनेछन्।’
उनका अनुसार यी देशहरूको अर्थतन्त्र अझै पनि कोभिड महामारीपछिको असरबाट पूर्णरूपमा नउठेकोले उनीहरू आर्थिक हितलाई प्राथमिकता दिने छन् ।
उनी भन्छिन् कि सबै छिमेकी देशहरू चाहन्छन् कि यो तनाव चाँडै अन्त्य होस् ।
सानो अर्थतन्त्र भएका छिमेकी देशहरू
अफगानिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, म्यानमार र भूटानका लागि भारत-पाकिस्तानबीचको तनाव महत्त्वपूर्ण छ ।
शुभदा चौधरी भन्छिन्, ‘भारत-नेपालबीच ६० प्रतिशत व्यापार हुन्छ, त्यो प्रभावित हुन सक्छ । नेपाललाई भारतका बन्दरगाह र व्यापार मार्गहरूमा समस्या आउन सक्छ । चीनले भने यस अवस्थाको फाइदा उठाएर नेपालसँग सम्बन्ध विस्तार गर्ने प्रयास गर्न सक्छ ।’
उस्तै असर भूटानमा पर्न सक्छ, किनकि भारतको अर्थतन्त्रमा असर पर्दा त्यहाँको पर्यटन उद्योग प्रभावित हुन सक्छ ।
दक्षिण एसियाका भू-राजनीतिक विज्ञ धनञ्जय त्रिपाठीका अनुसार अफगानिस्तानबाहेक अन्य सबै छिमेकी देशहरू तटस्थ रहन चाहन्छन् ।
उनले भन्छन्, ‘भारत ठूलो अर्थतन्त्र भएको देश भएकाले नेपाल, श्रीलंका लगायतका देशहरू आर्थिक रूपमा भारतसँग जोडिएका छन् । पर्यटन आय महत्वपूर्ण भएकाले तिनीहरू तनाव चाँडै अन्त्य होस् भन्ने चाहन्छन् ।’
भारत र श्रीलंकाबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) छ र हालैका आर्थिक संकटका बेला भारतले श्रीलंकालाई सहयोग गरेको छ ।
विदेश मामिलाका जानकार कमर आगा छिमेकी देशहरूसँग भारतको व्यापारिक सम्बन्ध रहेकाले ती देशहरू युद्ध नहोस् भन्ने चाहने बताउँछन् ।
उनी भन्छन्, ‘लामो संघर्षले अर्थतन्त्रलाई असर गर्छ, किनकि युद्धकालमा रक्षा खर्च बढ्छ तर रोजगारी सिर्जना हुँदैन । बंगलादेशलाई ठूलो असर पर्न सक्छ, खासगरी किनभने त्यहाँको हालको सरकार पाकिस्तानतिर झुकेको छ । भारतले बंगलादेशमा ठूलो लगानी गरेको छ।’
हाल बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार छ, जससँग भारतसँग केही मुद्दाहरूमा मतभेद छन् ।
कमर आगा चीनले विभिन्न देशहरूमा लगानी गरेको भए पनि त्यसले तिनै देशहरूलाई भन्दा चीनलाई फाइदा पुगेको देखिएको छ । त्यसैले माल्दिभ्स र श्रीलंका पुन: भारततिर फर्किरहेका छन् ।
चीनको नजर
चीनको पाकिस्तानसँग सुमधुर सम्बन्ध छ तर भारतसँग व्यापारिक हित पनि जोडिएका छन् । अहिले चीन आफैं अमेरिकासँग व्यापार युद्धमा छ र त्यसले उसको अर्थतन्त्रमा पनि असर पारेको छ ।
चीनको विदेश मन्त्रालयले पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको हवाई आक्रमणलाई ‘दुर्भाग्यपूर्ण’ भनेको छ र दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।
कमर आगा भन्छन्, ‘चीन यो संघर्ष लम्बियोस् भन्ने चाहन्छ, ताकि पाकिस्तानलाई हतियार बेच्न सकियोस् । उसले पाकिस्तानमा ६८ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ ।’
अफगानिस्तान के गर्छ ?
२२ अप्रिलमा जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणपछि अफगानिस्तानले त्यसको निन्दा गर्दै यसले क्षेत्रीय स्थायित्वमा असर पार्ने बतायो ।
भारतको ‘अपरेशन सिन्दूर’ र पाकिस्तानसँगको बढ्दो तनावबारे पनि अफगानिस्तानले चिन्ता व्यक्त गर्दै दुबै पक्षलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ ।
कमर आगा भन्छन्, ‘अफगानिस्तानले कहिल्यै डूरण्ड रेखालाई आधिकारिक रूपमा मान्यता दिएको छैन । त्यसैले अफगानिस्तान र पाकिस्तानबीच पुरानो सीमा विवाद छ र भारत-पाकिस्तान संघर्षमा अफगानिस्तान भारतको पक्षमा देखिन सक्छ ।’
ईरानको स्थिति
भारत–पाकिस्तानबीचको तनावका बीच ईरानले दुवै देशको यात्रा गरेको छ । ईरानले पहलगाम आक्रमणको निन्दा गर्दै मध्यस्थताको प्रस्ताव पनि राखेको छ ।
भारत र ईरानबीच ऐतिहासिक, रणनीतिक र आर्थिक सम्बन्ध छन्। सन् २०२२-२३ मा दुबै देशबीच करिब २.५ अर्ब डलरको व्यापार भएको थियो।
भारत ईरानको चाबहार बन्दरगाहमा ५० करोड डलरभन्दा बढी लगानी गरिसकेको छ र यसलाई अफगानिस्तान तथा मध्य एशियासम्मको व्यापारिक पहुँचको रुपमा प्रयोग गर्न चाहन्छ ।
रक्षा विज्ञ संजीव श्रीवास्तव भन्छन्, ‘ईरान दुवै देशसँग सम्बन्ध राख्छ र शान्ति स्थापना गर्न चाहन्छ। त्यसैले उसले यो तनाव चाँडै अन्त्य होस् भन्ने चाहन्छ ।’
बीबीसी हिन्दीबाट अनुवाद








प्रतिक्रिया