
काठमाडौं । बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) दुवैको नाफा घटेको हो ।
यस वर्षको चैत मसान्तसम्ममा बालाजुले चैत मसान्तसम्ममा १ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
वित्तीय विवरणअनुसार बालाजुको नाफासँगै आम्दानीमा पनि गिरावट आएको छ । बालाजुले चैत मसान्तसम्ममा कुल ७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले कुल ७ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
बालाजुको जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ भने तराईको जगेडा कोषमा ६ अर्ब ५ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ । बालाजुको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ ।
यस्तै, तराईले चालू आवको चैत मसान्तसम्म ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
तराईले यस अवधिमा कुल ४ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्रकाशित वित्तीय विवरणअनुसार बोटलर्स तराईको प्रतिसेयर आम्दानी ८९ रुपैयाँ छ ।








प्रतिक्रिया