राति १ बजेर ५ मिनेटमा भारतले सुरू गरेको थियो पाकिस्तानमा आक्रमण

1.4k
Shares


एजेन्सी । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरेको सैन्य कारबाहीबारे नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

भारतीय सेनाका कर्नेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलहरूले २०८२ साल वैशाख २४ गते राति १:०५ बजेदेखि १:३० बजेसम्म ‘अप्रेशन सिन्दुर’ सञ्चालन गरेको जानकारी दिइन् ।

‘यो कारबाही २२ अप्रिलमा पहलगाममा भएको निर्दोष नागरिकमाथिको क्रूरतापूर्ण आतङ्कवादी हमलाको प्रतिकारस्वरूप र पीडित परिवारलाई न्याय दिलाउनका लागि गरिएको हो। यो अपरेसन अन्तर्गत नौ वटा आतङ्कवादी शिविरहरूलाई लक्षित गर्दै पूर्ण रूपमा ध्वस्त पारिएको छ,’ उनले भनिन् ।

कर्नेल सोफियाले पाकिस्तानमा विगत तीन दशकदेखि ‘आतङ्कवादी पूर्वाधार’को निर्माण भइरहेको दाबी गरिन् । उनका अनुसार यी पूर्वाधार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा फैलिएका छन्।

यसबीच, पाकिस्तानले पहलगाम हमलामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। उसले भारतसँग यदि प्रमाण छन् भने सार्वजनिक गर्न आग्रह गरेको छ ।

हवाई आक्रमणहरूमा कम्तीमा २६ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ । जसमा महिला र बालबालिका पनि परेका छन् । साथै ४६ जना घाइते भएका छन्। आक्रमणबाट मस्जिदहरू र आवासीय भवनहरूमा समेत क्षति पुगेको छ।

पाकिस्तानी सेनाको रातभरको गोलाबारीमा परेर भारत-नियन्त्रित कश्मीर क्षेत्रमा कम्तीमा आठ जना भारतीय नागरिकको मृत्यु भएको भारतीय रक्षा स्रोतले सीएनएनलाई जानकारी दिएको छ ।

पाकिस्तानी सेनाले भारतद्वारा आफ्ना भूमिमाथि गरिएका हवाई कारबाहीको जवाफस्वरूप भारतीय नियन्त्रणको कश्मीर क्षेत्रमा तोप हमला गरिएको पुष्टि गरिसकेको छ।

भारतले भने पाकिस्तानमाथि नियन्त्रण रेखा पार गरी “अकारण” फायरिङ गरेको आरोप लगाएको छ ।

यो पछिल्लो झडपले दुबै देशबीचको सैन्य तनावलाई थप चर्काएको छ।