
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ (आयात कर) बारे गरेका निर्णयपछि एप्पलले ठूलो निर्णय लिन लागेको छ।
एप्पलले अमेरिकामा बेचिने आइफोन र अन्य उपकरणहरूको उत्पादन चीनबाट सारिने जनाएको छ ।
एप्पलका प्रमुख (सीईओ) टिम कुकले आउँदो महिनाहरूमा अमेरिकामा बेचिने धेरैजसो आइफोन ‘मेड इन इंडिया’ (भारतमा बनेको) हुनेछन् ।
त्यस्तै, भियतनाम आइप्याड र एप्पल वाच उत्पादन गर्ने मुख्य केन्द्र बन्नेछ । एप्पलले अमेरिकी आयात करका कारण अहिलेको त्रैमासिक (३ महिनाको अवधिमा) कम्पनीको लागत करिब ९० करोड डलरले बढ्न सक्ने अनुमान गरेको छ ।
यो त्यतिबेला हो जब ट्रम्पले मुख्य इलेक्ट्रोनिक्स सामानहरूलाई नयाँ ट्यारिफबाट अलग राख्ने निर्णय गरेका थिए ।
ट्रम्प प्रशासनले पटक–पटक एप्पलले आफ्नो उत्पादन अमेरिका मै ल्याओस् भन्ने चाहेको जनाएको छ ।
यस्तो अनुमान त्यतिबेला आएको हो जब विश्वभरका कम्पनीहरू अमेरिकी व्यापार नीतिका कारण प्रभावित भएका छन् र विश्वव्यापी व्यापारमा आएका ठूला परिवर्तनहरूलाई सामना गर्न संघर्ष गरिरहेका छन् ।
बिहीबार लगानीकर्ताहरूसँग कम्पनीको आर्थिक स्थिति बारे छलफल हुँदा एप्पलका प्रमुख टिम कुक अमेरिकामा लगानी तर्फ ध्यानाकर्षण गराउने इच्छुक देखिए ।
कुकले छलफलको सुरुवातमै एप्पलले आगामी ४ वर्षमा अमेरिकाका विभिन्न राज्यहरूमा ५०० अर्ब डलर लगानी गर्ने योजना रहेको बताए ।
मेड इन इंडिया
टिम कुकले एप्पलले अमेरिकामा बेचिने सामानहरूको आपूर्ति प्रणाली (सप्लाइ चेन) चीनबाट सार्न लागेको जनाए । यस कदमको सबैभन्दा ठूलो फाइदा भारत र भियतनामले पाउनेछ ।
‘अमेरिकामा बेचिने धेरैजसो आइफोन भारतमै बनाइनेछ,’कुकले भने, ‘भियतनाममा आइप्याड, म्याकबुक, एप्पल वाच र एयरपड्स उत्पादन गरिनेछ ।’
तर, उनले अमेरिकाबाहिरका अन्य देशहरूमा बेचिने धेरैजसो सामानहरू अझै चीनमै उत्पादन गरिने बताए । तर उत्पादन भारतमा सार्न एप्पलले अर्बौँ डलर खर्च गर्नुपर्नेछ ।
एम एन्ड जी कम्पनीका प्रमुख लगानी अधिकृत शान्ति केलेमेनले बीबीसी टुडे कार्यक्रममा भने, ‘यस्ता ट्यारिफहरूले आपूर्ति प्रणालीमा असर गर्छन् र नयाँ कारखाना बनाउन धेरै खर्च लाग्छ । एप्पलले भनेको छ कि उनीहरूले आगामी केही वर्षमा ५०० अर्ब डलर लगानी गर्ने योजना बनाएका छन् ।’
हाल यी कम्पनीहरूमा धेरै असर परेको छैन
ट्रम्प प्रशासनले आपसी ट्यारिफ घोषणा गरेपछि एप्पलको सेयरमा ठूलो गिरावट आएको थियो ।
तर, ट्रम्प प्रशासनमाथि त्यसपछि ठूलो दबाव आयो । ट्यारिफ लागू भएपछि धेरै इलेक्ट्रोनिक्स सामग्रीहरू, फोन र कम्प्युटरहरूलाई यसबाट अलग गरिएको थियो। यस्तो हलचलबीच एप्पलको आम्दानीमा खासै असर परेको छैन ।
कम्पनीले गत वर्षको यही त्रैमासिकको तुलनामा यसपटक कम्पनीको आम्दानी ५ प्रतिशतले बढेर ९५.४ अर्ब डलर पुगेको जनाएको छ ।
अमेजन अर्को ठूलो कम्पनी हो जसलाई ट्यारिफले कस्तो असर गर्छ भनेर नजिकबाट हेरिँदै आएको थियो । तर, अमेजनले पनि बिक्री बढेको दाबी गरेको छ।
कम्पनीले पछिल्लो त्रैमासिकमा उसले उत्तर अमेरिकी ई–कमर्स व्यवसायमा वर्षको तुलनामा ८ प्रतिशत वृद्धि गरेको जनाएको छ ।
कम्पनीले आगामी महिनाहरूमा पनि यस्तै वृद्धि हुने अपेक्षा गरेको छ ।
‘कसैले पनि जान्दैन ट्यारिफ कहिले र कहाँ गएर रोकिन्छ ।’ अमेजनका एन्डी जेस्सी भन्छन्, ‘हामी प्रायः चुनौतीपूर्ण परिस्थितिहरूमा अरूको तुलनामा राम्रोसँग सामना गर्न सक्छौँ । मलाई आशा छ कि अहिले पनि त्यस्तै हुनेछ ।’
कम्पनीहरूले बनाइरहेका छन् नयाँ योजना
मूर इनसाइट्स एन्ड स्ट्र्याटेजीका प्रमुख प्याट्रिक मूरहेडले आइफोनको आपूर्ति प्रणाली भारत सार्ने निर्णय प्रभावशाली रहेको बताए ।
उनले भने, ‘यो परिवर्तन देखाउँछ कि केही वर्षअघि कुकले भनेका थिए कि केवल चीनमै आइफोन बनाउन सकिन्छ । अब एप्पलले प्रगति देखाउन थालेको छ । अझै धेरै गर्न बाँकी छ तर यो राम्रो सुरुवात हो ।’
ट्यारिफका कारण अमेजनले पनि आफ्नो स्थिति परिवर्तन गर्दैछ ।
अमेजनले आफ्ना विक्रेताहरूमा विविधता ल्याउने काम गरिरहेको जनाएको छ । जेस्सीले भने, ‘आउँदा महिनाहरूलाई हेर्दा हाम्रो कम्पनी राम्रो स्थितिमा छ । दैनिक आवश्यक वस्तुहरू आपूर्ति गर्न सक्ने हाम्रो क्षमता हाम्रो बलियो स्थिति देखाउँछ ।’
उनी हालका ट्यारिफका कारण कम्पनीलाई खासै घाटा नपुगेको बताउँछन्।
अधिकारीहरूले जे पनि हुन सक्ने बताउँछन् । यद्यपि केही व्यक्तिहरूले स्टक (सामान जम्मा) गरेर व्यापारमा फाइदा उठाएका छन् ।
२०२५ को पहिलो त्रैमासिकमा अमेजनको कुल बिक्री गत वर्षको यो अवधिको तुलनामा ९ प्रतिशत बढेर १५५.७ अर्ब डलर पुगेको छ । त्यसैगरी वार्षिक नाफा ६० प्रतिशतभन्दा बढी बढेर लगभग १७ अर्ब डलर पुगेको छ ।








प्रतिक्रिया