माओवादीले पत्रकार सम्मेलन गरेर भन्यो: सरकार फेल भइसक्यो

63
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार सम्पूर्ण रूपमा फेल भएको आरोप लगाएको छ ।

बुधवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनता निराश र आक्रोशित रहेको भन्दै सरकारको कुशासन र नालायकीका कारणले प्रतिगामी तत्वहरू सलबलाइरहेको बताए । उनले सरकारप्रति नागरिकहरूको आक्रान्तले सीमा नाघिसकेको आरोप लगाए । शिक्षकहरू, चिकित्सकहरू, नर्सहरू, लघुवित्तपीडितहरू, सहकारी पीडितहरू, कर्मचारीहरू आन्दोलित आन्दोलनमा उत्रिएको भन्दै उपाध्यक्ष सापकोटाले राज्यका कुनै पनि क्षेत्रले शान्तिसँग काम गर्न नसकेको जिकिर गरे ।

समस्याहरूको समाधानको सट्टा सरकार उल्टो गतिमा हिँडिरहेको उनले आरोप लगाए ।

सत्तापक्षकै नेताहरू नै सरकारका कार्यसम्पादनप्रति सन्तुष्ट नरहेको बताउँदै सरकार जनताका समस्या समाधानमा गैर जिम्मेवार बनेको सापकोटाले आरोप लगाए ।

‘जनता धेरै नै निराश छन् । जनता एक प्रकारले आक्रोशित पनि छन् । यो सरकारको कुशासन र नालायकीका कारण प्रतिगामीहरू सलबलाइरहेका छन् । यो परिस्थितिमा सरकारप्रति आक्रान्त भइसकेका छन् । सीमा नाघिसकेको छ । सबै सडकमा छन् । शिक्षकहरू त छँदै छन्, चिकित्सकहरू, नर्सहरू, लघुवित्तपीडितहरू, सहकारी पीडितहरू, कर्मचारीहरू आन्दोलित छन् । स्थानीय तहका कर्मचारीहरूले धेरै पहिलेदेखि आन्दोलन गरिरहेका छन् । राज्यका कुनैपनि क्षेत्रले शान्तिसँग काम गर्न सकेका छैनन् । यस्तो परिस्थितिमा समस्या समाधान गर्नुको सट्टा सरकार उल्टो गतिमा हिँडिरहेको छ । सरकार पूर्ण रुपमा रूपमा फेल भइसकेको छ’ उनले भने ।

नेकपा (माओवादी केन्द्र) ले विद्यालय शिक्षा विधेयकलाई फास्ट ट्रयाकबाट पास गरी शिक्षकका मागहरू सम्बोधन गर्न सरकारसँग माग गरेको छ । उपाध्यक्ष सापकोटाले प्रधानमन्त्री शिक्षकका माग पूरा गर्न भन्दा उनीहरूलाई होच्याउने तथा अपमानित गर्ने काम गरिरहेको आपत्ति जनाए ।