निजामती सेवा विधेयक समझदारीमा टुंग्याउनुपर्छ: गगन थापा

182
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापाले संघीय निजामती सेवा विधेयकलाई समझदारीका साथ टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उनले समितिले विधेयकमा तीव्र गतिमा काम गरेको बताए । प्रतिवेदन हेरिसकेपछि यसलाई कसरी टुंग्याउने भन्नेमा लाग्नुपर्ने उनको भनाइ छ ।

समितिमा छलफल भइरहेको बेला आन्दोलनका चेतावनीहरु जारी भएपछि उनले समितिको प्रयासलाई अवमूल्यन हुने खालका गतिविधि नहोस् भनेर सरोकारवाला पक्षहरूलाई संयमित हुन आग्रह गरे ।

समितिका सभापति रामहरि खतिवडाले समितिबाट विधेयक पारित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

यता, समितिबाट विधेयक पारित गर्ने तयारी भइरहेका बेला राजपत्र अनंकित कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले विधेयकले आफूहरूको हक र अधिकारप्रति बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

यसैबीच संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन मुख्य बुँदामा असहमति जनाएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले असहमति प्रस्तुत गरेका हुन् ।