प्रधानमन्त्री बन्नेहरुलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छः वामदेव

0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छ्न् ।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनावद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ । उनले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको जिकिर गरे ।

छलफलमा प्रधानमन्त्री बन्नेहरुलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने गौतमले तर्क गरे ।

‘प्रधानमन्त्री हुनेहरुलाई ल्याएर यदी मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनुपर्‍यो,’ गौतमले भने, ‘ यदि समस्याको समाधान गर्न सकेनन् भने यीनिहरु मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरि गर्ने हो यीनिहरुले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ । अब आधारभुत रुपमा काम गर्न नसक्दासम्म अगाडि बढ्न सकिन्न ।’