
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिबाट पूर्वगभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।
उनले मंगलबार ह्वाट्सएपमार्फत मन्त्री पौडेलसमक्ष राजीनामा पेश गरेका हुन् । समितिका संयोजक समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले एकपटक पनि बैठक नबोलाएको भन्दै असन्तुष्टि जनाउँदै भट्टराईले राजीनामा दिएका हुन् ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते तीन सदस्यीय समिति गठन गरेको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेका थिए ।
समितिले नयाँ गभर्नरको नाम सरकारलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ । समितिले एक जना डेपुटी गभर्नरलाई राखेर तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने र ती नाममध्येबाट सरकारले एक जनालाई गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
चैत २४ गतेदेखि गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको छ । राष्ट्र बैंक ऐनमा सामान्यतया १ महिना अगाडिनै गभर्नर नियुक्ति गरेर सार्वजनिक जानकारी गराउनुपर्ने व्यवस्था छ । तर अहिलेसम्म सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन।
त्यतिमात्र होइन सिफारिस समितिको बैठक एक पटक पनि बसेको छैन ।
सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच गभर्नरका विषयमा सहमति जुटिसकेको भए पनि समितिले नाम सिफारिस गरेको छैन भने त्यसअघि नै सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
कांग्रेसको भागमा गभर्नर परेसँगै राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन लागिएको भन्दै सर्वोच्च अदालतमा पुरक निवेदन परेपछि गभर्नर नियुक्ति पेचिलो बनेको छ ।
को र कस्तो गभर्नर क्लिकमान्डुको विशेष श्रृंखला हेर्न यहाँ क्लिक गर्नुस् ।







प्रतिक्रिया