करारका अमिन यादवले गरे साढे ३ करोड भ्रष्टाचार, मुद्दा दायर


सांकेतिक तस्बिर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण अन्तर्गत जिल्ला आयुक्तको कार्यालय, काठमाडौंमा कार्यरत अमिन दिनेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गौरीघाटस्थित वाग्मती नगर जग्गा एकीकरण आयोजना अन्तर्गत करार सेवामा कार्यरत यादवले तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरीका आधारमा अख्तियारले यादवमाथि अनुसन्धान थालेको थियो । अनुसन्धानमा २०६३ साल भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्मको अवधिमा उनको आम्दानी, खर्च तथा सम्पत्तिको विश्लेषण गरिएको थियो।

उक्त अवधिमा यादवको कुल वैध आय दुई करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ मात्र देखिएको छ भने कुल खर्च पाँच करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ पुगेको अख्तियारको दाबी छ। यस आधारमा उनले तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ अवैध रूपमा आर्जन गरेको निष्कर्ष निकालिएको हो।

अख्तियारले दायर गरेको मुद्दामा सोही रकम बिगो दाबी गरिएको छ। साथै, यादवले सार्वजनिक पदमा रहँदा आर्जन गरेको गैरकानुनी सम्पत्तिको केही हिस्सा आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको पाइएको छ। त्यसैले उक्त सम्पत्ति जफतको प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ।