बेवास्ता गरेको राप्रपाको साथ चाहिने अवस्थामा किन पुगे पूर्वराजा ?

प्रसाईं र सुवेदीसँग नभेटेको ज्ञानेन्द्रको दाबी


काठमाडौं । तीनकुने घटनाका सन्दर्भमा राजनीतिक रूपमा चासोको केन्द्रमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज सुवेदी र दुर्गा प्रसाईंप्रति आफूले कुनै समर्थन नजनाएको दाबी गरेका छन् ।

शुक्रबार निर्मल निवासमा पूर्वपञ्चहरुको दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ नेताहरूसँगको लञ्च मिटिङका क्रममा पूर्वराजा शाहले ‘संयुक्त जनआन्दोलन समिति’ र त्यसको गतिविधिमा आफूको संलग्नता नरहेको बताएको लञ्च मिटिङमा सहभागी एक नेताले बताए ।

शाहले आफूले दुर्गा र नवराजसँग भेटवार्ता नभएको दाबी गरेको स्रोतको भनाइ छ । ‘उनीहरु(दुर्गा, नवराज) व्यक्तिहरूसँग भेट भएको पनि छैन, मैले कसैलाई आन्दोलन गर भनेर भनेको पनि छैन’, पूर्वराजाको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

निर्मल निवास पुगेका नेताहरूमा अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाही थिए ।

करिब डेढ घण्टा भएको छलफलमा पूर्वराजाले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनप्रति चिन्ता व्यक्त गरेको ति नेताले बताए । आफूले गद्दी छाड्दा मान्छे नमारेको भन्दै शाहले अहिले मानिसको ज्यान जानु दुखद् भएको बताएको र त्यस्ता गतिविधि नगर्न भनेको ति नेताले जानकारी दिए ।

तीनकुने घटनाका बारेमा पूर्वराजा शाहले राप्रपा अध्यक्ष लिङ्देनलाई किन त्यस्तो गरेको ? भन्दै प्रश्न गरेका थिए । जवाफमा लिङ्देनले तीनकुनेको कार्यक्रम आफूहरुले नगरेको बरु निर्मल निवासको सदासयता पाएका सुवेदी नेतृत्वको समितिले गरेको जवाफ दिएका थिए । तर पूर्वराजा शाहले आफूले उक्त समिति नबनाएको दाबी गरेका थिए ।

पूर्वराजाले समितिको गठनबारे प्रश्न गर्दा लिङ्देन र प्रवक्ता शाहीले मिडियामा ‘उक्त समिति निर्मल निवासबाट बनेको’ भनी खबर आएको बताएका थिए। त्यसपछि पूर्वराजाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘पूर्वराजाले त्यो समिति आफूले नबनाएको र उनीहरुसँग भेट नै नभएको बताउनु भयो ।’

तर, दुर्गा प्रसाईं निर्मल निवास आएको र बाहिरिएको भिडियोहरु सार्वजनिक भएको भन्दै राप्रपाका नेताहरुले पूर्वराजालाई जिज्ञासा राखेको उनले जानकारी दिए । ‘मेरो उनीहरुसँ भेट भएको छैन,’ पूर्वराजाको भनाइ उदृत गर्दै उनले भने, ‘मेरो सचिवालयका कसैसँग भेटे होलान् कि ?’

आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा पूर्वराजाको जोड

राप्रपाका नेताहरुसँग पूर्वराज शाहले राजतन्त्र स्थापनाका लागि हुने आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा जोड दिएका थिए । जनताले चाहेको गर्ने भन्दै उनले प्रहरीमाथि ढुंगामुढा हुन नहुने बरु ढुंगाको सट्टा फूल दिनु पर्ने उनले बताए । प्रहरी पनि नेपाली दाजूभाइ रहेकोले त्यस्ता गतिविधि नगर्न उनले राप्रपाका नेताहरुलाई सुझाव दिए ।

हिंसात्मक आन्दोलनले देशमा व्यवस्था सुधार नहुने बरु अराजकता मात्र फैलिने पूर्वराजाले बताएको ति नेताले उल्लेख गरे ।

पूर्वराजाले मुलुकको वर्तमान अवस्था र बेरोजगारी, वैदेशिक पलायन जस्ता समस्याप्रति पनि चिन्ता व्यक्त गरेका थिए । नेपालमा कोही नबस्ने अवस्था बनेको, विदेश जाने क्रम बढेको, गरिबी, धर्म संस्कारमा ह्रास आएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए ।

राप्रपा नेताहरुले आफूहरुको पार्टी ‘राजसंस्थाको एजेण्डामा अडिग’ रहेको बताएका थिए।

पूर्वराजाले राप्रपाले आजका लागि आयोजना गरेको निषेधित क्षेत्र तोड्ने कार्यक्रम अघि नेताहरुलाई बोलाएर छलफल गरेपछि यसलाई चासोका साथ हेरिएको छ ।

राप्रपाप्रति विश्वास ?

पूर्वराजा शाहले यसअघि राप्रपाका नेताहरुलाई भन्दा पूर्वपञ्च सुवेदी तथा प्रसाईंमाथि बढी विश्वास गरेको टिप्पणी हुने गरेको थियो । राप्रपालाई साथ लिएर अघि बढ्ने भन्दा उक्त दललाई फुटाउनमा उनी बढि सक्रिय हुने गरेको आरोप लाग्ने गरेको थियो । प्रसाईं र सुवेदीलाई अघि सार्दा राजतन्त्रको पक्षमा बन्दै गएको माहोल तीनकुने घटनापछि एकाएक बिग्रिँदा पूर्वराजाको चेत खुलेको राप्रपाका एक नेताले बताए ।

पूर्वराजाले राप्रपालाई दिएको ‘स्पेस’ले पूर्वराजा यी व्यक्तिहरूको अनियन्त्रित गतिविधि र हिंसात्मक आन्दोलनसँग जोडिन नचाहेको देखाउने ति नेताको भनाइ छ।

‘राजावादी एजेण्डा अघि बढाउन पूर्वराजाले राप्रपाको संस्थागत भूमिकालाई महत्व दिएका छन्,’ उनले भने ।