आज बिहान ९ बजेदेखि शिक्षक आन्दोलन, दिनभर माइतीघर- नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध रहने


काठमाडौं । नेपाल शिक्षक महासङ्घले जारी राखेको राजधानी केन्द्रित शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि शुरु गर्ने भएको छ ।

बिहान ९ बजेदेखि नै आन्दोलन सुरु भएपछि आइतबार राजधानीको सडकहरु अस्त व्यस्त हुने अवस्था सिर्जना भएको छ । बिहान ९ बजेदेखि सरकारी र गैरसरकारी कर्मचारीहरु ओहोर दोहोर गर्ने भएकाले आन्दोलनका कारण प्रभावित हुने भएको छ ।

राप्रपाले पनि आज राजधानीमा प्रदर्शन गर्ने भएकाले त्यसलाई ध्यानमा राख्दै शिक्षक महासंघले आन्दोलनको तालिका पहिले सारेको हो । शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरिएको छ ।

अन्य दिन उक्त आन्दोलनका कारण दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर मण्डला-नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । आज बिहान ९ बजेदेखि नै उक्त सडक खण्ड अवरुद्ध हुँदा कार्यालय समयको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ ।

महासंघले आन्दोलनमा आन्दोलन अवधिभर संस्थागत विद्यालय समेत बन्द गर्न आग्रह गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै शैक्षिक सडक आन्दोलन उत्कर्षमा पुगेकोले सबैलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन समेत आग्रह गरेको छ ।

यसैगरी आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि महासङ्घले आग्रह गरेको छ । आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत महासंघको आग्रह छ ।