औषधी लिमिटेडलाई मन्त्रालयको जवाफ: किराना पसलबाट समान किनेजस्तो होइन

392
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल औषधी लिमिटेड खरिद प्रक्रियामा समावेश नभएको कारणले औषधी खरिद रोकिएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधी खरिद प्रक्रिया अगाडि नबढाउँदा औषधी लिमिटेडले औषधी उत्पादन बन्द गरेको विषयलाई खण्डन गरेका हुन् ।

उनले सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेण्डर प्रक्रियाहरूमा सहभागी भई कागजातहरू पूरा भएको खण्डमा लिमिटेडले नै टेण्डर पाउने बताउँदै यो किराना पसलबाट सामान किनेजस्तो नभएको टिप्पणी गरे । उनले मन्त्रालयले आफ्नो घरेलु र स्थानीय उद्योगहरूलाई प्रोत्साहन गर्ने समेत जिकिर गरे ।

डा. बुढाथोकीले भने,’हामी आफ्नै घरेलु र स्थानीय उद्योगहरूलाई प्रोत्साहन गर्छौं । उहाँहरूले दिने मूल्य पनि विदेशीहरूको भन्दा सस्तो हुन्छ भन्ने हामीलाई विश्वास लाग्छ । सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेण्डर प्रक्रियाहरूमा सहभागी भएर कागजात पूरा गर्नुभयो र सुनिश्चितता गर्नुभयो भने उहाँहरूले नै पाउनुहुन्छ त्यसमा दुई मत छैन । त्यसमा समावेश नभएर किराना पसलबाट समान किनेजस्तै भनेपछि यो नभएको हो । मन्त्रालय विधिमा चल्छ । नियम कानुन मानेर चल्छ ।’

प्रवक्ता डा. बुढाथोकीले औषधी लिमिटेडले जी टु जी (सरकारी टु सरकारी) काम गर्नको लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउँदै वर्ष भरी कुनैपनि औषधीको उत्पादन नरोकिने विश्वास दिलाउनुपर्ने बताए । टेण्डर प्रक्रियामा नजाने र विजनेश प्लान पनि देखाउने जस्ता कामले मन्त्रालयलाई विश्वास नलागेको जिकिर गरे । नेपाल औषधी लिमिटेडले व्यावसायिक प्लान बनाएर उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बजेटको पनि सुनिश्चितता हुने मुख्यमन्त्री लगायतको बैठकमा छलफल भएको बताए ।

अर्थ मन्त्रालयमा औषधी लिमिटेडले पेश गरेको एमओयु स्वीकृत नभएको उनको भनाइ छ ।

‘पछिल्लो समय मुख्यमन्त्री, सचिव लगायतका सरोकारवाला नेतृत्वमा भएको छलफलमा पनि नेपाल औषधी लिमिटेडले व्यावसायिक प्लान बनाएर उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाउने, अर्थ मन्त्रालयले स्वीकृति दियो भने बजेटको पनि सुनिश्चितता गर्छ । त्यो सुनिश्चितताको आधारमा स्वास्थ्य मन्त्रालयले उहाँबाट औषधीहरू किन्ने गरी एमओयु गर्नेगरी तयारी भएको हो । तर अर्थ मन्त्रालयमा उहाँहरूले पेस गरेको एमओयु स्वीकृत पनि भएको छैन,’ उनले भने, ‘अर्थ मन्त्रालयले प्रत्याभुति पनि नदिएको अवस्थामा स्वास्थ्य मन्त्रालयले तपाइहरूको बिजनेस प्लान हेरौँ न त भन्दा खेरी नदिएपछि हामीले कुन विश्वासको आधारमा २४ औँ घण्टा, १२ महिना औषधी उत्पादन हुन्छ र त्यो औषधीलाई नेपाली जनताले निःशुल्कको रूपमा वा अन्य रूपमा औषधी पाइरहन्छन् भन्ने विश्वास भएन । त्यो विश्वास नभएकोले पनि एमओयु गर्न ढिलाइ भएको हो ।’

नेपाल औषधी लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोकेको छ । कच्चा पदार्थको ठूलो परिमाण खरिद गरेर उत्पादन बढाइए पनि सरकारका विभिन्न निकायहरूले औषधी खरिद नगरेपछि बजारमा विक्री ठप्प हुँदा उत्पादन नै बन्द गर्नुपरेको औषधी लिमिटेडले जनाएको छ ।