पश्चिम नेपालमा मेघगर्जनसहितको वर्षा, लुम्बिनी र गण्डकी प्रदेशतिर सर्दै

378
Shares

काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लामा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

रुकुम पश्चिमको मुसिकोट, सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलेखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङ लगायतका क्षेत्रमा लगातार पानी परिरहेको विभागले जनाएको हो ।

विभागले केही बेरअघि सूचना प्रकाशित गरि यो मौसमी प्रणाली क्रमशः लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागतिर सर्दै जाने जनाएको छ ।

पछिल्ला तीन घण्टामा सबैभन्दा धेरै वर्षा दैलेखको कट्टीमा २०.६ मिलिमिटर रेकर्ड गरिएको छ भने पछिल्लो एक घण्टामा घोराही र सल्यान बजारमा ७.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यसअघि २४ घण्टाको अवधिमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा वर्षा भएको विभागले जनाएको छ । सबैभन्दा धेरै वर्षा झापाको अनारमनीमा ७६.४ मिलिमिटर भएको छ।


आज दिउँसो कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। त्यस्तै, कोशीसहित देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।

विभागले वर्षा, चट्याङ र हिमपातका कारण कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

Skip This