
काठमाडौं । सरकारको आम्दानी भन्दा खर्च १ खर्ब ४२ रुपैयाँले बढी भएको छ । चालू आर्थिक वर्षको नौ महिना (साउन–चैत)मा ८ खर्ब ३१ अर्ब रुपैयाँले राजस्व संकलन गर्दा खर्च भने ९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । सरकारको आम्दानी भन्दा खर्च बढी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार साउन र मंसिरमा मात्रै खर्चको तुलनामा आम्दानी बढी देखिएको भएपनि त्यसपछिका महिनामा खर्च बढी भएका कारण पनि सरकार अप्ठ्यारोमा पर्दै गएको छ । सरकारले आम्दानी भन्दा बढी खर्च गरिरहेकै कारण साधारण खर्च धान्न पनि मुश्किल परिरहेको छ ।
तथ्यांक अनुसार सरकारले चालु आवको चैतसम्ममा लक्ष्यको ५८ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ । यस्तो राजस्व चैतसम्ममा ८ अर्ब ३१ अर्ब रुपैयाँ छ । यद्यपी सरकारले राखेको राजस्व संकलनको लक्ष्य भने १४ खर्ब १९ अर्ब रुपैयाँ छ ।

चैतमा मात्रै संकलन भएको राजस्व भने १ खर्ब ११ अर्ब रुपैयाँ छ । महालेखाको तथ्यांक अनुसार सरकारले चैतमा गरेको खर्च भने १ खर्ब ५९ अर्ब रुयैयाँ छ ।
सरकारले गैर कर र अनुदानसहितबाट गरेको चैतसम्ममको कुल आम्दानी भने ८ खर्ब ५५ अर्ब रुपैयाँ छ । यो आम्दानीबाट हुने खर्च अधिक देखिएको छ ।
सरकारले आम्दानी बढाउन नसकेको कारण खर्च बढी भएको देखिएको छ । महालेखा नियन्त्रकको तथ्यांक अनुसार चालु खर्च ५९ प्रतिशत गरेको सरकारले पुँजीगत खर्च भने जम्मा २९ प्रतिशत मात्रै गर्न सकेको छ ।
३ खर्ब ५३ अर्ब रुपैयाँ विकास निर्माण गर्ने गरी छुट्याएको सरकारले नौ महिनासम्म पनि जम्मा १ खर्ब २ खर्ब मात्रै खर्च गर्न सकेको छ ।








प्रतिक्रिया