‘फरार’ दुर्गा प्रसाईंको घोषणा: सुरेश रजक र सविन महर्जनको परिवारलाई ५/५ लाख दिन्छु

1.3k
Shares


काठमाडौं । राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जनको परिवालाई ५/५ लाख रुपैयाँ दिने दुर्गा प्रसाईंले घोषणा गरेका छन् ।

चैत १५ गते तीनकुनेमा राजावादीले गरेको आन्दोलनका कमाण्डर प्रसाईंले ज्यान गुमाएका दुई परिवारका सदस्य तथा उनीहरुको बालबच्चाको पठनपाठनको लागि उक्त रकम दिने घोषणा गरेका हुन् ।

बुधबार प्रसाईले हिमाली क्षेत्र ब्याकग्राउण्डमा देखिने गरी एक भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आफू नभागेको पुन: दोहोर्‍याए । प्रसाईंले नेपाल र नेपाली बचाउने अभियान सञ्चालन गरेकोले आफू बाहिर निस्किएर आएपछि उक्त पैसा दिने बताएका छन् ।

प्रसाईले मिडियाबाट आफूनो ज्यानै लिने योजना सरकारले बनाइरहेको जानकारी पाएकोले आफू सुरक्षित बसेको तर नभागेको तर्क गरेका छन् । उनले सरकारले पेरुमा भएको जनविद्रोहमा त्यहाँ गोन्जालोलाई पक्राउ गरेर मारिएपछि त्यहाँको जनविद्रोह बिफल बनाएको स्मरण गर्दै आफू पेरुको गोन्जालो बन्न नचाहेको बताएका छन् ।

प्रसाईंले आफ्ना कानून व्यवासायी र मानवअधिकारवादीको राेहवरमा आफूलाई सुरक्षित महसुस हुने वातावरण बनाइदिने हाे भने २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका छन् ।

तीनकुनेमा हिंसात्मक गतिविधि भएपछि प्रसाईं फरार भएका थिए । प्रहरीले उनलाई खोजिरहेको भए पनि फेला पार्न सकेको छैन ।