
काठमाडौं । नेपालभित्र सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले एक महिनाभित्र सरकारी निकायमा दर्ता गर्नुपर्ने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न जारी गरिएको ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८०’ को व्यवस्थाअनुसार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
निर्देशिकाको दफा ३ अनुसार नेपालमा सामाजिक सञ्जाल सञ्चालन गरिरहेका वा सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरणका लागि निवेदन दिनुपर्नेछ । निवेदन निर्देशिकाको अनुसूची–१ बमोजिमको ढाँचामा तोकिएका आवश्यक कागजातसहित पेश गर्नुपर्नेछ ।
त्यसैगरी, नेपालभित्र सम्पर्क विन्दु तोक्नुपर्ने, आवासीय गुनासो सुन्ने अधिकारी राख्नुपर्ने तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्नुपर्ने प्रावधान समेत निर्देशिकामा उल्लेख गरिएको छ।
हालसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याब प्रा.लि. (वीटक) मात्र सूचीकरण भइसकेका छन्। बाँकी सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मलाई ३० दिनभित्र सूचीकरण गर्न मन्त्रालयले आग्रह गरेको छ।
‘तोकिएको समयमा सूचीकरण नगरिएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम नेपालभित्र सञ्चालनमा रोक लगाइनेछ,’ सूचनामा उल्लेख छ ।
प्रतिक्रिया