
काठमाडौं । नेपाली सेनाले संविधानले प्रदान गरेको जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।
विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नेपाली सेनालाई लिएर विभिन्न प्रकारका टिप्पणीहरू प्रसारित भएपछि बुधबार नेपाली सेनाको जंगीअड्डाले विज्ञप्ति जारी गरी यसको खण्डन गरेको हो ।
नेपाली सेना संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयका विभिन्न प्रचारहरू सामाजिक सञ्जालमा प्रसारित भएका थिए । साथै सेना राजवादीको पक्षमा उत्रिनुपर्ने तथा भित्रभित्रै राजा सेनाको पक्षमा लागिरहेको जस्ता टिप्पणी पनि आइरहेका छन् ।
ती गतिविधिलाई इंगित गर्दै सेनाले भनेको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधानले प्रदान गरेको जिम्मेवारी पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’
सेनाले आफ्ना गतिविधि तथा धारणाहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल तथा सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको बताएको छ ।
‘विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई लिएर विभिन्न प्रकारका टिप्पणी, धारणा तथा विश्लेषणहरू प्रसारित भएका छन् । यस सम्बन्धमा नेपाली सेनाले आफ्ना धारणा तथा गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल तथा सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ,’ सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपाली सेनासँग सम्बन्धित जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचना प्राप्त गर्न सेनाले आग्रह गरेको छ ।
प्रतिक्रिया