
एजेन्सी । विद्युतीय गाडी निर्माता बीवाईडीले चीनमा नयाँ चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । यसले विश्वकै ठूलो अटो बजारमा प्रतिस्पर्धा झन् तीव्र बनाउँदै टेस्लाजस्ता प्रतिस्पर्धीहरूलाई पछाडि पार्ने संकेत गरेको सीएनएनले जनाएको छ ।
चीनको सेन्जेनस्थित कम्पनीले आफ्नो नयाँ सिस्टमलाई ‘सुपर ई-प्लेटफर्म’ नाम दिएको छ । जसले ५ मिनेटमै गाडी चार्ज गर्न सक्ने बीवाईडीले जनाएको छ ।
यो चार्जिङ प्रणालीले गाडीलाई २५० माइल (करिब ४०० किलोमिटर) यात्रा गर्न सक्षम बनाउने बीवाईडीको दाबी छ । नयाँ प्रविधिलाई समर्थन गर्न बीवाईडीले चीनभरि ४ हजार अल्ट्रा-फास्ट चार्जिङ स्टेसनहरू बनाउने योजना बनाएको छ ।
यो प्रविधि लोकप्रिय भए विद्युतीय गाडी बजारमा ठूलो परिवर्तन ल्याउन सक्ने जनाइएको छ । टेस्लाको सुपरचार्जरले १५ मिनेटमा २०० माइल (करिब ३२० किलोमिटर) को चार्ज दिन्छ ।
‘हाम्रो लक्ष्य इलेक्ट्रिक गाडी चार्जिङलाई पेट्रोल गाडीमा तेल भर्ने जत्तिकै छिटो बनाउने हो,’ बीवाईडीका अध्यक्ष वाङ चुनफुले उद्घाटन समारोहमा भने । बीवाईडीले नयाँ चार्जिङ प्रविधिसहितका गाडीहरूको प्रि-अर्डर सोमबारदेखि खुला गरेको छ जसको डेलिभरी अर्को महिनादेखि सुरु हुनेछ ।
बीवाईडीका हङकङ सूचीबद्ध सेयरहरू मंगलबार ६ प्रतिशतभन्दा बढीले बढेर नयाँ उचाइमा पुगे ।
यसैबीच, टेस्लाले पनि सोमबार चीनमा एक महिनाका लागि आफ्नो फुल सेल्फ ड्राइभिङ प्रणालीको नि:शुल्क परीक्षण सुरू गरेको छ।
तर, टेस्लाले गत महिना ल्याएको नयाँ सफ्टवेयर अपडेट अपेक्षाभन्दा कमजोर देखिएपछि कम्पनीले चिनियाँ प्रविधि कम्पनी बाइडुसँग सहकार्य गरी यसको कार्यक्षमता सुधार गर्ने योजना बनाएको छ ।
बीवाईडी र टेस्लाबीच कडा प्रतिस्पर्धा
बीवाईडी र टेस्ला हाल विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक गाडी उत्पादकको स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०२३ को अन्तिम त्रैमासिकमा बीवाईडीले पहिलो पटक टेस्लालाई बिक्रीमा उछिनेको थियो । २०२४ को पहिलो भागमा टेस्लाले अग्रता लिए पनि वर्षको अन्त्यतिर बीवाईडीले टेस्लाभन्दा करिब १ लाख बढी गाडी बेचेको थियो ।
टेस्लाका लागि चिनियाँ बजारमा चुनौती बढ्दै गएको छ । जनवरी २०२४ मा टेस्लाको चीनमा बिक्री १९ प्रतिशतले घटेको थियो जसले गर्दा बीवाईडी, गीली र एसजीएमडब्लुको पछि चौथो स्थानमा झरेको थियो ।
२०२४ मा चीनको नयाँ उर्जा गाडी बजारमा बीवाईडीको बजार हिस्सा ३२ प्रतिशत पुगेको थियो । जबकि टेस्लाको मात्र ६.१ प्रतिशत हिस्सा थियो ।
प्रतिक्रिया