
एजेन्सी । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर अन्य दुई अन्तरिक्ष यात्रीसँगै स्पेसएक्सको ड्र्यागन क्याप्सुलमार्फत पृथ्वीमा फर्किएका छन् ।
गत वर्ष जुन महिनामा मात्र आठ दिनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका यी दुई अन्तरिक्ष यात्री नौ महिनापछि बल्ल फर्कन सकेका हुन् ।
बोइङको स्टारलाइनर यानले उनीहरूलाई पृथ्वीमा फर्काउनु पर्ने थियो तर बिग्रिएपछि उनीहरूलाई यति लामो समय कुर्नुपर्यो।
अन्ततः एलन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन क्याप्सुलमार्फत फ्लोरिडाको तटमा सुरक्षित रूपमा अवतरण गरियो ।
समुद्रमा अवतरण गरेपछि क्याप्सुलको वरिपरि जिज्ञासु डल्फिनहरूको समूह घुमिरहेको थियो ।
अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा आइपुग्न १७ घण्टा लागेको थियो ।
उनीहरूको यात्रा कस्तो रह्यो र स्प्ल्याशडाउन (समुद्रमा अवतरण) गरेपछि के के भयो?

प्यारासुट खुल्यो त्यसपछि स्प्ल्याशडाउन…
नेपाली समयअनुसार बिहान ३:४२ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गर्यो । समुद्री सतहमा आइपुगेपछि कन्ट्रोल सेन्टरबाट अन्तरिक्ष यात्रीहरूलाई स्वागत गर्दै भनियो, ‘निक, एलेक, बुच, सुनी… स्पेसएक्सको तर्फबाट घर फर्किएकोमा स्वागत छ ।’
कमाण्डर निक हेगले खुसी व्यक्त गर्दै जवाफ दिए, ‘क्याप्सुलभित्र सबैको अनुहारमा मुस्कान छ ।’

स्प्ल्याशडाउन हुनु अघि के भयो ?
आईएसएसबाट पृथ्वीमा फर्किने यात्रा करिब १७ घण्टाको थियो । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ड्र्यागन क्याप्सुलको गति १७,००० माइल प्रति घण्टा (झन्डै २७,३५८ किमी/घण्टा) थियो, जसलाई केही मिनेटभित्रै सुस्त पारियो।
मंगलबार सुनिता विलियम्स र बुच विलमोरसँगै अन्य दुई अन्तरिक्ष यात्री निक हेग र रूसी अन्तरिक्ष यात्री एलेक्जेन्डर गोर्बूनोभले अन्तरिक्षमा रहेका अन्य यात्रीहरूलाई बिदाइ गरेका थिए ।
निक हेग र गोर्बूनोभ गत वर्ष सेप्टेम्बरमा स्पेसएक्सको ड्र्यागन क्याप्सुलमार्फत ६ महिनाका लागि अन्तरिक्ष मिसनमा गएका थिए।

२००० डिग्री तापक्रम, हीट शिल्ड– यात्रा कति जोखिमपूर्ण ?
जब क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो संचार सम्पर्क (कम्युनिकेसन) केही समयका लागि बन्द भयो जुन ३:२० बजे फेरि पुनःस्थापित भयो ।
वायुमण्डल प्रवेश गर्दा अन्तरिक्ष यानको प्लाज्मा शिल्डको तापक्रम १,९२७ डिग्री सेल्सियससम्म पुगेको थियो । तर, हीट शिल्डले अन्तरिक्ष यात्रीहरूलाई तीव्र गर्मीबाट सुरक्षित राख्यो ।
३:२१ बजे क्याप्सुल स्वचालित (अटोनोमस) भयो । जसको अर्थ अन्तरिक्ष यात्रीहरूले नियन्त्रण गर्नुपरेन । तर उनीहरू अगाडि रहेको टच स्क्रिनमा सबै गतिविधि हेर्न सक्थे।
३:२४ बजे पहिलो दुई प्यारासुट खुले । जसले क्याप्सुलको गति झनै सुस्त बनायो। यस क्रममा एक शक्तिशाली झट्का महसुस गरियो । त्यसपछि थप दुई प्यारासुट खुले ।

समुद्रमा अवतरणपछि के भयो ?
जब क्याप्सुल समुद्रमा अवतरण गर्यो त्यसको वरिपरि डल्फिनहरू घुमिरहेको देखियो ।
घटनास्थलमा तैनाथ रिकभरी टिम तुरुन्तै स्पीडबोटमार्फत क्याप्सुलसम्म पुगे । सुरक्षा अवस्थाको मूल्याङ्कन गरे र प्यारासुट हटाए।
त्यसपछि स्पेसएक्सको रिकभरी पोत (जहाज) अवतरण स्थलबाट करिब दुई माइल टाढा रोकिएको थियो तिनीहरुला नजिक ल्याइयो।
अन्तरिक्ष यानको अवतरणको समयमा मौसम सफा र आकाश नीलो थियो।
पछि, क्याप्सुललाई डोरीको सहायताले सुरक्षासहित उद्धार जहाजमा लगियो।

क्याप्सुलको ढोका खुल्यो
त्यसपछि ड्र्यागन क्याप्सुलको साइड ह्याच (ढोका) खोलियो र संसारभरका मानिसहरू अन्तरिक्ष यात्रीहरूको झलक पाउने प्रतीक्षामा रहे ।
धेरै समयपछि उनीहरू पृथ्वीको ताजा हावामा सास फेर्न पाउँदै थिए ।
नासाको प्रत्यक्ष प्रसारणमार्फत विश्वभरका मानिसहरूले सुनिता विलियम्स र उनका साथीहरूलाई बाहिर निस्कँदै गरेको देखे ।
क्रु क्याप्सुलबाट बाहिर निस्कनुअघि एक क्यामेराले भित्रका तस्वीरहरू कैद गर्यो । ती तस्वीरहरूमा सबै यात्रीहरू हात हल्लाउँदै अभिवादन गरिरहेका देखिन्थे।
क्रु-९ का कमाण्डर निक हेग क्याप्सुलबाट बाहिर निस्कने पहिलो यात्री थिए । उनी बाहिर निस्के क्यामेरातर्फ हेरेर मुस्कुराए हात हल्लाए र अगाडि बढे ।

क्याप्सुलबाट बाहिर निस्केपछि अन्तरिक्ष यात्रीहरूले हात हल्लाए
क्याप्सुलबाट निस्किनुअघि सुनिता विलियम्स र विलमोरले क्यामेरातर्फ हात हल्लाउँदै खुसी व्यक्त गरे । अन्तरिक्षमा करिब २८६ दिन बिताएपछि सुनिता विलियम्स र बुच विलमोरले पृथ्वीको ताजा हावामा सास फेरे ।
जब उनीहरू क्याप्सुलबाट बाहिर निस्किरहेका थिए उनीहरूको अनुहारमा मुस्कान थियो । क्यामेरातर्फ हेर्दै उनीहरू लगातार हात हल्लाइरहेका थिए ।
करिब नौ महिना अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा बिताउँदा उनीहरूले हरेक दिन १६ पटक सूर्योदय र सूर्यास्त देखे । यस्तो परिस्थितिमा आफूलाई अनुकूल बनाउनु निकै चुनौतीपूर्ण थियो ।
अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था कस्तो छ ?
नासाको व्यावसायिक अन्तरिक्ष मिसनका प्रबन्धक स्टिभ स्टिचले अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य ठीक रहेको बताए ।
उनका अनुसार अन्तरिक्ष यात्रीहरू केही समयका लागि रिकभरी शिपमा रहनेछन् र त्यसपछि ह्युस्टन लगिनेछ ।
स्टिचले आफ्नो टोलीलाई धन्यवाद दिए र नासाको आवश्यकताअनुसार अनुकूल हुन सक्ने क्षमताका लागि एलन मस्कको कम्पनी स्पेसएक्सको प्रशंसा गरे।
यद्यपि, अन्तरिक्ष यात्रीहरूको मेडिकल परीक्षण भइरहेको छ । यो प्रक्रिया पूरा भएपछि मात्रै उनीहरूलाई परिवारसँग भेट्न अनुमति दिइनेछ ।
सामान्यतया यो प्रक्रियामा एक दिन लाग्छ ।
स्टिचका अनुसार अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमा बिताएको समयबारे जानकारी दिनेछन् र त्यसपछि केही समय बिदामा रहनेछन् ।

नासाको अन्तरिक्ष मिसन निर्देशक उप-प्रशासक जोएल मोन्टालबानोका अनुसार, सुनिता विलियम्स र बुच विलमोरले आईएसएसमा रहँदा ९०० घण्टा अनुसन्धान गरे र १५० वैज्ञानिक प्रयोग पूरा गरे।
उनले यी अनुसन्धानहरू देशका लागि लाभदायक भएको बताए । साथै, यसले दशकको अन्त्यसम्ममा मंगल ग्रहमा मानव अवतरण गराउने नासाको लक्ष्यलाई सहयोग पुग्ने आशा व्यक्त गरे ।

शरीरमा पर्ने प्रभाव
बीबीसीकी विज्ञान सम्पादक रेबेका मोरेलका अनुसार अन्तरिक्ष यात्रुहरू प्रायः ६ महिनासम्म मात्र अन्तरिक्षमा बस्ने गर्छन् तर सुनिता विलियम्स र बुच विलमोरले ९ महिना बिताउनु पर्यो ।
अन्तरिक्षमा बस्दा शरीरमा विभिन्न असर पर्न सक्छ ।
आफूलाई स्वस्थ राख्न अन्तरिक्ष यात्रीहरूले प्रत्येक दिन ४ घण्टा व्यायाम गर्नुपर्छ । तर, शून्य गुरुत्वाकर्षणको वातावरणमा हड्डी र मांसपेशीहरू कमजोर हुन्छन्।
शरीरमा रक्तसंचारलाई गुरुत्वाकर्षणले सहज बनाउँछ तर अन्तरिक्षमा यसको प्रभाव कम हुन्छ । यसका कारण आँखामा तरल पदार्थ जम्मा भएर दृष्टि प्रभावित हुन सक्छ। साथै अन्तरिक्ष यात्रीहरूले विकिरण (रेडिएसन) को सामना पनि गर्नुपर्छ।
त्यसैले अन्तरिक्ष यात्रीहरूको स्वास्थ्यलाई आईएसएसमा निकै नजिकबाट निगरानी गरिन्छ ।
यद्यपि, अन्तरिक्षमा भएका अधिकांश शारीरिक परिवर्तनहरू पृथ्वीमा फर्किएपछि विस्तारै सामान्य अवस्थामा फर्कन्छन् ।
ब्रिटिश अन्तरिक्ष यात्री टिम पीकका अनुसार पृथ्वी फर्किएपछि नयाँ वातावरणमा अभ्यस्त हुन केही समय लाग्छ ।
बीबीसी रेडियो ४ को ‘टुडे’ कार्यक्रममा उनले भने, ‘शरीरले यसलाई बिदाको जस्तो महसुस गर्छ । तपाईंको मुटु, मांसपेशी र हड्डीहरूले विश्राम लिन्छ।’
‘अन्तरिक्ष स्टेशनमा तपाईं शून्य गुरुत्वाकर्षणमा पृथ्वीको चारैतिर घुमिरहनुहुन्छ । स्वस्थ रहनका लागि व्यायाम गर्नुपर्छ । तर, पृथ्वी फर्किएपछि दुई-तीन दिन निकै कष्टकर हुन्छ ।’





प्रतिक्रिया