साढे ४ खर्ब लागतको मुगु कर्णालीमा लगानी गर्न २ भारतीय कम्पनी ‘लबिइङ’मा, लोकल एजेन्ट को ?

4.5k
Shares

काठमाडौं । साढे ४ खर्ब रुपैयाँ लागत रहेको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न दुई भारतीय कम्पनी निरन्तर लबिइङमा छन् ।

भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेड र भारतीय अर्बपति गौतम अडानीको कम्पनी यो आयोजनामा लगानी गर्न निरन्तर लागि परेका छन् ।

‘लगानी सम्मेलनमा हामीले प्रोजेक्ट शोकेस गरेका थियौं । त्यसको केहि समयपछि एनएचपीसीले हामीलाई डकुमेन्ट माग्यो । हामीले फुकोट कर्णालीको काम सुरु भएपछि दिने जानकारी दियौं, उनीहरु आइरहेका छन्,’ विद्युत उत्पादन कम्पनीका एक इन्जिनियरले भने,- ‘अडानी ग्रुपका प्रतिनिधि पनि आएका  थिए । आन्तरिकरुपमा लगानी जुटाउने भनेर हामीले प्रक्रिया सुरु गरेका छौं । आन्तरिक लगानी जुटेन भने विदेशी लगानीका लागि प्रक्रिया सुरु गर्छौं भन्यौं ।’

विद्युत उत्पादन कम्पनीले यसअघि नै आन्तरिक स्रोतबाट लगानी जुटाउने भन्दै सार्वजनिक निजी साझेदारीमा निर्माण गर्ने भन्दै सूचना निकालेको थियो । मुगु कर्णाली र किमाथांका अरुण जलविद्युत आयोजनाका लागि सूचना निकालेको थियो ।

विद्युत उत्पादन कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि पीपीपी मोडलबाट आयोजनाहरु विकास गर्न खोजेको हो । ५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग मागिएको थियो।  नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवर्धक रहेको कम्पनीले आवेदन दिन सक्ने उल्लेख गरेर सूचना निकालिएको थियो  ।

१९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजनामा भारतका अर्बपति व्यापारी गौतम अडानीले लगानी गर्ने भन्दै स्थानीय साझेदारी सिजी ग्रुपमार्फत मुगु कर्णालीमा लगानी गर्न प्रस्ताव हालेका थिए । तर विवाद भएपछि उक्त सूचना रद्ध गरियो ।

स्रोतहरुका अनुसार चौधरीबाट अडानीलाई खोसेर इन्फिनीटी होल्डिङ्समार्फत व्यावसायिक साम्राज्य विस्तार गरिरहेका दिपक भट्टको समूहले स्थानीय साझेदारीका लागि अडानी समूहसँग गत फागुनमा सम्झौता गरिसकेको छ ।

अहिले स्वदेशी लगानीकर्ताले मात्रै विद्युत उत्पादन कम्पनीका आयोजनामा लगानी गर्न पाउँछन् ।  विदेशील गानीकर्ता ल्याउँदा कम्पनीको लगानी साँझेदारी कार्यविधी-२०८१ संशोधन गर्नुपर्छ ।  

‘हामी अब हाम्रो प्रवर्धकसँग छलफल गर्छौं । ठूला ठूला आयोजना रहेका कारण लगानी जुटाउन सक्ने अवस्था छैन,’ विद्युत उत्पादन कम्पनीका एक इन्जिनियरले भने, ‘उहाँहरुसँगको छलफलपछि हामी लगानीकर्ता भित्र्याउने प्रक्रिया थाल्छौं । स्वदेशी लगानीबाट खर्बौंका परियोजनामा लगानी जुटाउन सक्ने अवस्था छैन ।’

लामो समयदेखि नेपालमा लगानी गर्न अडानीले चासो देखाउँदै आए पनि अहिलेसम्म औपचारिकता पाउन सकेको छैन । अडानी समूहले २ वर्षअघि १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी बहुउदेश्यीय आयोजनामा चासो देखाएको थियो । त्यस्तै काठमाडौ अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका साथै निजगढ लगायतका एयरपोर्टमा पनि चासो देखाएको थियो।

एनएचपीसी त्यहि कम्पनी हो, जसले ७५० मेगावाटको पश्चिम सेती, ४५० मेगावाटको सेती नदी-६ (एसआर-६) आयोजना हात पारेको छ । १०६१ मेगावाटको अप्पर अरुण जलविद्युत् आयोजनासमेत हात पार्न लागेको छ ।

मुगु कर्णाली १९०२ मेगावाटको आयोजना जलाशययुक्त जलविद्युत् आयोजना हो । यो जलविद्युत् आयोजनाको सम्भाव्यता अधययन गरिरहेको छ । ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाले ६२९१.८ गिगावाट आवर उत्पादन गर्न सक्छ ।

कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत आयोजना सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध करिब २५० मिटर उचाईको हुने अनुमान छ । आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी ४ जिल्लामा निर्माण हुनेछ ।

सम्भाव्यता अध्ययनले यो परियोजना निर्माणका लागि १० वर्ष लाग्ने उल्लेख गरेको छ । भूमिगत विद्युत गृह निर्माण हुनेछ । ७.७ पिकिङ दिन सक्ने परियोजना हो । नेपालमा अध्ययन भइरहेको सबैभन्दा ठूलो परियोजना यही हो । यो आयोजनाको १० प्रतिशत इन्टरनल रेट अफ रिटर्न छ ।

Skip This