२६ औं फ्लोरा एक्स्पो: दोस्रो दिनसम्म ५८ लाखको कारोबार


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी २६ औं फ्लोरा एक्स्पोमा दोस्रो दिनसम्ममा ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो अवधीमा ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

सोमबारसम्म चल्ने सो पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपियाँभन्दा बढीको कारोवार हुने लक्ष्य राखिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

२६ औं फ्लोरा एक्पो ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुई र फूडस्टल ३ वटा गरी ८३ वटा स्टल रहेको फ्यानका उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङले बताए ।

नेपालको ५२ जिल्लामा २६० हेक्टरभन्दा बढि क्षेत्रफलमा व्यवसायिक रुपमा पुष्पको खेती भइरहेको छ ।

यो क्षेत्रमा १ हजार १ सय ७४ भन्दा बढि पुष्प व्यवसायीहरु संलग्न रहेका छन् । पुष्प क्षेत्रमा करिब ८ अर्व ८३ करोडभन्दा बढि लगानी रहेको व्यवसायीहरुले औल्याएका छन् ।

प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५१ हजार ५०० भन्दा बढी जनशक्तिले रोजगार प्राप्त गरेका छन भने पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक कारोबार ३ अर्व ६८ करोडभन्दा बढि छ ।