साढे ८ अर्ब लागतमा बिपी हाइवे पुनर्निर्माण: नेपालथोक खण्ड बनाउन ठेक्का आह्वान, अर्को खण्ड कहिले ?

3k
Shares

काठमाडौं । ढिलोगरी स्रोत सुनिश्चितता कारण चालु आर्थिक वर्षको वर्षात् सिजनमा क्षतिग्रस्त बिपी राजमार्ग सञ्चालनमा नआउने सुनिश्चित भएको छ ।

सरकारले ढिलो गरी स्रोत सुनिश्चित गरेको र आवश्यक सम्पूर्ण प्रक्रिया सकेर निर्माण कार्य अघि बढाउँदा असार महिनाको वर्षा सिजन सुरु हुने भएकाले यो वर्षको वर्षामा उक्त सडक खण्ड सञ्चालन गर्न सकिने अवस्था छैन ।

सरकारले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको पुनर्निर्माण गर्न ठेक्का आह्वान गर्ने प्रक्रिया सुरु गरेको छ ।

यो प्रक्रियाअनुसार ठेक्का सम्झौता गर्न तीन महिनाको समय लाग्नेछ । तीन महिनापछि वर्षा सिजन सुरु हुँदा निर्माण कार्य प्रभावित हुने सरोकारवाला निकायहरुको औंल्याएका छन् ।

क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सरकारले नेपालथोक–बर्खेखोला सडक खण्ड पुनर्निर्माण गर्न ठेक्का आह्वान गरेको छ । पुनर्निर्माण हुने भत्केको सडक खण्ड अब ढलको नालासहित १० मिटर चौडाई दुई लेनको निर्माण हुनेछ । जसमा ७ मिटर चौडाइको कालोपत्रे निर्माण हुनेछ ।

सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय खाल्टेले बुधबार उक्त सडक खण्ड निर्माण गर्न ठेक्का आह्वान गरेको हो । नेपालथोक–बर्खेखोलासम्मको ५ किलोमिटर दूरी भएको सडक खण्ड पुनर्निर्माण गर्न ठेक्का आह्वान गरिएको हो ।

डिभिजन कार्यालय सिन्धुली–रामेछाप (खाल्टे) का डिभिजन प्रमुख पारसमणि हमालका अनुसार उक्त सडक खण्डको पुनर्निर्माण गर्न सरकारले करिब १ अर्ब रुपैयाँ बिनियोजन गरेको छ ।

सडक पुनर्निर्माण गर्न मूल्य अभिवृद्धि कर (भ्याटवाहेक) करिब ७० करोड रुपैयाँ खर्च हुने हमालले जानकारी दिए । उनका अनुसार आवश्यक सवै प्रक्रिया सम्पन्न गरी सम्झौता हुन तीन महिनाको समय लाग्छ ।

तीन महिनापछि असार महिनाको वर्षाको सिजन सुरु हुने भएकाले निर्माण कार्य प्रभावित हुन सक्ने उनले बताए ।

‘सवै प्रक्रिया सकेर जेठ अन्तिम सातासम्ममा ठेक्केदार कम्पनीसँग सम्झौता हुनेछ,’ क्लिकमान्डुसँग हमालले भने,‘त्यसपछि असारको वर्षा सिजन सुरु हुने हुनाले काम गर्न कठिनाइ हुन्छ । वर्षात् सकेपछि मात्रै नियमित रुपमा निर्माणको कार्य सुरु गर्न मिल्छ ।’

काम सम्पन्न गर्न सरकारले २ वर्षको अवधि तोकेकाले उक्त अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

सरकारले उक्त सडक खण्डको पुनर्निर्माण गर्न स्रोत सुनिश्चितता गर्न निक्कै ढिलाइ गरेकाले त्यसको प्रभाव निर्माणमा पर्नेछ ।

सरकारले गत फागुन ४ गते मात्रै बिपी राजमार्गको भत्केको सडक खण्ड पुनर्निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो ।

हमालका अनुसार पहिले साधारण वाल उठाएर निर्माण भएको बिपी राजमार्गको भत्केको खण्ड अब भने विशिष्टीकृत रुपमा निर्माण गर्न लागिएको छ ।

यसअन्तर्गत खोला किनारतर्फ जमिनमुनिबाट माइक्रो पाइल उठाइनेछ । यसरी जमिनमुनिबाट उठाइएको माइक्रो पाइलमाथि आरसीसी (कंक्रिट) वाल उठाएर दुई लेनको कालोपत्रे सडक निर्माण गर्न लागिएको छ ।

क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माण गर्न आवश्यक सहयोग गर्न सरकारले जापान सहयोग नियोग(जाइका) सँग कुटनीतिक रुपमा वार्ता गर्दै आए पनि हालसम्म उक्त नियोगबाट भरपर्दो प्रतिवद्धता आएको छैन ।

सडक विभागले क्षतिग्रस्त विपी राजमार्गलाई चार वटा प्याकेजमा बाँडेर ठेक्का लगाएर पुनर्निमार्ण गर्न लागेको हो ।

विभागका महानिर्देशक रामहरी पोखरेलका अनुसार चारवटा प्याकेजमध्ये एउटा प्याकेज जापान सहयोग नियोग(जाइका) लाई दिने गरी तयारी भएको छ । लागत खर्चको खाका टुंगिएपछि जाइकालाई एउटा प्याकेजअन्तर्गत निर्माणको जिम्मेवारी दिइने उनले बताए ।

असोज दोस्रो साता परेको अबिरल वर्षासँगै आएको बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्मको सडक क्षतिग्रस्त बनेका छन् ।

अधिकांश सडक जगदेखि नै बगेको छ । यो खण्डको २८ किलोमिटरमध्ये १२ किलोमिटर पूर्ण रूपमा क्षति भएको थियो भने ८.७ किलोमिटर खण्ड खोलाको बाढीले कटान गरेर वगाएको सडक विभागले जनाएको छ ।

एक सय ६० किलोमिटर बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो । यो सडक निर्माण गर्न जापानले २६ अर्ब येन खर्च गरेको थियो । २०५२ सालदेखि बिपी राजमार्ग बनाउन सुरु गरेको थियो ।

निर्माण सम्पन्न भएपछि २०७२ असार १८ गते जाइकाले सरकारलाई औपचारिक रुपमा हस्तानान्तर गरेको थियो । २०७२ सालको भूकम्पबाट बिपी राजमार्गको केही भागमा क्षति पुगेको थियो ।

क्षतिग्रस्त भाग पुनर्निर्माण गर्न १८ महिना लागेको थियो । त्यसबेला मर्मतका लागि पनि जापान सरकारले एक अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग गरेको थियो ।

२३ किलोमिटरको भकुण्डेबेसी-बर्खेखोलाको बिहीबार ठेक्का आह्वान

बिपी राजमार्गअन्तर्गतकै क्षतिग्रस्त २३ किलोमिटर दूरीको भकुण्डेबेसी-बर्खेखोला सडक खण्डको ठेक्का आह्वान गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

सडक डिभिजन कार्यालय भक्तपुर–काभ्रेप्लाञ्चोकका डिभिजन प्रमुख सुमन योगेशका अनुसार २३ किलोमिटर क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न ठेक्का आह्वान सम्बन्धी तयारी अन्तिम चरणमा पुगेको छ ।

‘ठेक्का आह्वानको लागि आन्तरिक तयारी सम्पन्न गरिसकेका छौं,’ क्लिकमान्डुसँग योगेशले भने,‘सम्भवतः बिहीबार ठेक्का आह्वान सम्बन्धी टेण्डर आह्वान गर्छौं ।’

योगेशले पनि ठेक्का आह्वान गरिए पनि सम्पूर्ण प्रक्रिया सम्पन्न गरी जेठको अन्तिम सातासम्म सम्झौता हुनेछ । त्यसपछि असार महिना सुरु भएपछि काम गर्न सम्भव नहुने उनको भनाइ छ । वर्षा सिजन सम्पन्न भएपछि मात्रै निर्माण कार्य सुरु हुने योगेशले जानकारी दिए ।

२३ किलोमिटर दूरीको भकुण्डेबेसी–बर्खेखोला सडक खण्ड पुनर्निर्माण गर्न सरकारले ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको योगेशले बताए ।

यो २३ किलोमिटर सडक खण्ड पनि नालासहित दुई लेनको निर्माण हुने भएको छ । स्थानअनुसार आवश्यकताको आधारमा माइक्रो पाइलमाथि आरसीसी (कंक्रिट) वाल उठाएर सडकको पुनर्निर्माण गरिने उनले जानकारी दिए । दुई सडक खण्डको निर्माण सम्पन्न गर्न पनि दुई वर्षको अवधी तोकिएको छ ।

वर्षामा नागढुंगा–मुग्लिङ सडक खण्डमा चाप बढ्दा दुर्घटना थपिने

आगामी वर्षाअगावै बिपी राजमार्गको भत्केको खण्डको निर्माण सम्पन्न नहुँदा यसको सम्पूर्ण भार (लोड) नागढुंगा-मुग्लिङ सडक खण्डमा पर्ने निश्चित भएको यातायात व्यवसायीको भनाई छ ।

नागढुंगा–मुग्लिङ सडक खण्ड आफैमा अहिले विभिन्न स्थानमा पहिरो गएर र बाटो भत्केर क्षतिग्रस्त बनेको छ ।

उपत्यका भित्रिने र बाहिरिने मुख्य सडक नागढुंगा-मुग्लिङ सडक खण्डको विकल्पमा बिपी राजमार्ग पछिल्लो समयमा निक्कै प्रयोग हुँदै आएको थियो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार पूर्वी नेपाललाई जोड्ने यो सडक छोटो दूरीका भएकाले पूर्वी नेपाल जाने अधिकाँश सवारी चालकले यो बाटो प्रयोग गर्दैआएका थिए ।

त्यसमाथि सडक विस्तारको नाममा लामो समयदेखि निर्माणाधिन अवस्थामा भएकाले उक्त बाटो पनि वर्षाको समयमा निक्कै असुरक्षित मानिएको छ ।

यस्तो अवस्थामा अगामी वर्षा सिजनमा बिपी राजमार्ग पूर्ण रुपमा ठप्प भएर त्यसको सम्पूर्ण भार नागढुंगा–मुग्लिङ सडक खण्डमा थपिंदा यो रुटमा दुर्घटनाको जोखिम थप बढ्ने यातायात व्यवसायीले जानकारी दिएका छन् ।

बिपी राजमार्गमार्फत दैनिक करिब ३ हजारको संख्यामा सवारी साधन ओहोरदोहोर गर्दैआएको छ ।