
महोत्तरी । महोत्तरीको गौशला नगरपालिका-१, इँटाटारमा देशकै पहिलो ठूलो कागज उद्योग सञ्चालनमा आएको छ ।
स्वदेशी कच्चा पदार्थ र जनशक्ति प्रयोग गरेर उच्च गुणस्तरीय कागज उत्पादन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको लगानीमा यो उद्योग स्थापना गरिएको हो ।
गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि उद्योगले व्यवसायिक रूपमा कागज उत्पादन सुरु गरिसकेको छ । उद्योगले पुराना तथा प्रयोग भइसकेका कागजलाई पुनः प्रशोधन गरी, त्यसमा रहेका मसी तथा अनावश्यक तत्व हटाएर नयाँ कागज उत्पादन गर्छ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर पहिलो चरणमा फोटोकपी पेपर उत्पादन थालिएको छ ।
नेपाल हालसम्म कागजको आयातमा निर्भर रहँदै आएको छ । आन्तरिक माग पूरा गर्न विभिन्न देशहरूबाट अर्बौं रुपैयाँ खर्चेर कागज आयात गर्नुपर्ने बाध्यता रहेको बेला नेपालकै खेर फालिएका कागज पुनः प्रयोग गरेर यो उद्योगले स्वदेशमै कागज उत्पादन थालेको हो ।
उद्योग स्थापनाले नेपालमा अवसरको अभाव छ भन्ने मानसिकतालाई चुनौती दिँदै स्वदेशी स्रोत र लगानीबाट पनि ठूला उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । यसले केवल आयात प्रतिस्थापन मात्रै गर्ने छैन नेपालमै रोजगारी सिर्जना गर्दै अर्थतन्त्रलाई पनि मजबुत बनाउने अपेक्षा गरिएको छ ।
हाल यो उद्योगमा ३०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पूर्ण क्षमतामा सञ्चालन भएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने लक्ष्य राखिएको छ । करिब २ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको उद्योगको उत्पादन क्षमता क्रमशः वृद्धि गर्दै १५० टन दैनिक पुर्याउने योजना रहेको ढकालले जानकारी दिए ।
यदि दैनिक १५० टन कागज उत्पादन हुन सकेमा नेपाल शतप्रतिशत आयात प्रतिस्थापन गर्दै कागजमा आत्मनिर्भर बन्नेछ । उद्योगका लगानीकर्ता चन्द्र ढकालले भविष्यमा कागज निर्यात गर्ने लक्ष्य पनि राखेका छन् । नेपालमा आवश्यक कच्चा पदार्थको अभाव भएमा बाहिरबाट आयात गरेर समेत कागज उत्पादन गरी निर्यात गरिने उनको योजना छ । जसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ ।
आज हामी देशकै सबैभन्दा ठूलो कागज उद्योगमा पुराना कागजलाई पेलेर कसरी नयाँ कागज बन्छ भन्ने जानकारी दिन गइरहेका छौं ।
भिडियो: रवि धिताल/क्लिकमान्डु
प्रतिक्रिया