एलईभी ०१ ईभीका दुई भेरिएन्ट नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

238
Shares

काठमाडौं । नेपाली बजारमा एलएस अटोका दुई नयाँ भेरिएन्टका इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ ।

नेपालका लागि एलएस अटोको आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रालिले सोमबार एक कार्यक्रममार्फत दुई नयाँ भेरिएन्टका विद्युतीय गाडी सार्वजनिक गरेको हो । एलएस अटो सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको नयाँ ऊर्जा सवारी साधन कम्पनी हो । यस कम्पनीले अटोमोबाइल, उच्च-गति रेल र हेलिकप्टर डिजाइनसमेत गर्दै आएको छ।

कम्पनीले एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभीलाई स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई संस्करणमा प्रस्तुत गरेको छ ।

एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जसमा ९९ किलोवाट क्षमताको फ्रन्ट ह्विल ड्राइभ मोटर जडान गरिएको छ । यो मोटरले ३०० एनएम टर्क उत्पादन गर्छ । यसमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीले जनँएको छ ।

यो गाडी प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा आधारित छ, जसमा ब्याट्री प्याक साइड बडीभन्दा माथि राखिएको छ । साथै, ब्याट्री प्याक र ग्राउण्डबीच २२१ एमएमको दूरी कायम गरिएको छ । यसमा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा आधारित लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ।

एलईभी ०१ ले पूर्णचार्जमा ५०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसको प्रिमियम डिजाइनमा होरिजोन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप र पछाडि सस्पेन्डेड टेललाइट डिजाइन समावेश छन्।

यस ईभीमा लेदरेट स्टेरिङ ह्विल तथा सिट कभर, ३६० डिग्री क्यामेरा,वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड रहेको छ ।

यस गाडीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । युरो एनक्याप क्र्यास टेस्टमा ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्री वारेन्टी उपलब्ध गराएको छ।

कति पर्छ मूल्य ?

एलईभी ०१ को स्ट्यान्डर्ड संस्करणको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट संस्करणको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । एलएस अटोले सन् २०२५ सम्म एलईभी ०३ (प्रिमियम क्रसओभर ईभी) र एलईभी ०५ (मिडसाइज कम्प्याक्ट एसयूभी) सार्वजनिक गर्ने योजना बनाएको छ। यी गाडीहरू राइट ह्यान्ड ड्राइभ र लेफ्ट ह्यान्ड ड्राइभ दुवै संस्करणमा उत्पादन हुनेछन् ।

कम्पनीले नेपालभर चार्जिङ स्टेशन विस्तार गर्ने योजना बनाएको छ। हाल काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास नजिकै शोरूम सञ्चालनमा छ भने, अर्को शोरूम ललितपुरको बालकुमारीमा छिट्टै खुल्नेछ।