
काठमाडौं। स्वदेशी विद्युतीय ऊर्जाको उपयोग बढाउने र वातावरण संरक्षणका लागि खाना पकाउने विद्युतीय उपकरणको प्रवर्द्धन अपरिहार्य रहेको सरोकारवालाहरूले औँल्याएका छन्।
सोमबार काठमाडौँमा आयोजित नेशनल डिसेमिनेशन वर्कसपमा विज्ञ तथा स्थानीय जनप्रतिनिधिहरूले विद्युतीय चुलो तथा अन्य उपकरणको प्रयोगलाई तीव्रता दिन सरकारलाई विशेष नीति निर्माण र अनुदानको व्यवस्था गर्न आग्रह गरे।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीका अनुसार नेपालले वार्षिक रूपमा अर्बौ रुपैयाँको एसपी ग्यास तथा अन्य परम्परागत ऊर्जाको आयात गर्नुपर्ने बाध्यता रहेको छ। उनले भने, ‘हामीकहाँ पर्याप्त मात्रामा विद्युत् उत्पादन भइरहेको छ, तर यसको सही उपयोग हुन सकेको छैन। खाना पकाउने विद्युतीय उपकरणलाई सुलभ बनाउन मूल्यमा सहुलियत र विद्युत् शुल्क पुनरावलोकन गर्नुपर्छ’, उनले भने।
बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा दाहालले विद्युतीय ऊर्जामा आधारित उपकरण स्वास्थ्य र आर्थिक हिसाबले लाभदायक हुने भएकाले यसलाई लोकप्रिय बनाउन समुदायस्तरमा अनुदानको व्यवस्था गर्नुपर्ने बताइन्।
नारी चेतना केन्द्र नेपालकी अध्यक्ष सिर्जना पौडेलले स्थानीय सहकारी संस्थाहरूलाई उपकरणको बिक्री तथा मर्मत केन्द्र स्थापना गर्न प्रोत्साहित गरिने बताइन्। साथै, यस्ता उपकरणको मर्मत सम्भारका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन भइरहेको जानकारी दिइन्।
कार्यशालामा सहभागी सरोकारवालाहरूले विद्युतीय खाना पकाउने प्रविधिको दिगो प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र, र सहकारी संस्थाबिच समन्वय आवश्यक रहेको निष्कर्ष निकाले। दिगो आपूर्ति शृङ्खला र माग वृद्धि मार्फत यसको दीर्घकालीन प्रभावकारिता सुनिश्चित गर्न नीति निर्माणमा सरकारको ठोस कदम आवश्यक रहेको उनीहरूको धारणा थियो।
प्रतिक्रिया