
काठमाडौं । नेपाल बिमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्वक्लिकमान्डुकर्मीसमेत रहेका ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् ।
अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।
त्यसअघि १२ आवेदकमध्ये चिरञ्जीवी चापागाईं र कमल प्रसाद रेग्मी पनि सर्टलिस्टमा परेका थिए । सर्टलिस्टमा परेका ५ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ताबाट ओझा, पुडासैनी र बसौला सिफारिस भएका हुन् । जसमध्ये ओझाले बाजी मारे । ओझा क्लिमान्डुका पूर्ववरिष्ठ संवाददाता तथा सिनियर म्यानेजर हुन्।
ओझा नेपाली कांग्रेसको संस्थापन पक्षसँग निकट छन् । नवनियुक्त अध्यक्ष ओझाको पुर्ख्यौली डडेल्धुरास्थित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्री शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरा नै हो, हाल भने ओझा कञ्चनपुरका स्थायी बासिन्दा हुन् । देउवाकै जोडबलमा उनी अध्यक्ष बनेका हुन् ।
प्राधिकरणमा हालसम्म नियुक्त भएका मध्ये ओझा सबैभन्दा कम उमेरका हुन् । ३३ वर्षका उनी प्राधिकरणमा मात्रै नभइ हालसम्म नियामक निकायमा नियुक्ति भएका कार्यकारी प्रमुखमध्येकै कम उमेरका हुन् ।
ओझासँग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थाकीय तहमासमेत गरी १२ वर्षको कार्य अनुभव छ । ओझा विभिन्न क्याम्पसका अध्यापक हुन् भने नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संस्थाका लागि विज्ञका रूपमा काम गरिसकेका छन् ।
उनीसँग नीतिगत तथा कानुनी परामर्शदाताका रुपमा कार्य गरेको समेत अनुभव छ । पर्यटन नीति २०८१ निर्माणमा संलग्न ओझाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेका छन् भने त्यसअघि पोखरा विश्वविद्यालय व्यवस्थापनमा स्नातक गरेका थिए ।
आर्थिक पत्रकारका रूपमा विभिन्न सञ्चारमाध्यममा कार्य गरेका ओझा क्लिकमान्डु डटकममा वरिष्ठ प्रबन्धक तथा विशेष संवाददाताका रुपमा कार्यरत थिए । त्यसअघि उनले हिमाल खबर पत्रिका, नेपाली टाइम्स, देश सञ्चार अनलाइन तथा प्रशासनिक मासिक काम गरेका थिए ।
ट्रिनिटी एक्जिम तथा वरुण बेभरेज (नेपालमा पेप्सी उत्पादन तथा वितरण गर्ने कम्पनी) मा समेत काम गरेका ओझा उपत्यकामा रहेका विभिन्न कलेजहरु एपेक्स, राजधानी, इम्पेरियल, सायम कलेजमा व्यावसायिक वातावरण, अन्तर्राष्ट्रिय बिजनेस तथा नवप्रबर्तन विषय अध्यापन गर्छन् । उनी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा पर्यटन नीति तथा योजना विषय अध्यापन गराउँछन् ।
कृष्णपुर–८, कञ्चनपुरका ओझा ३३ वर्ष वर्षका भए । उनको वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन तथा अर्थतन्त्र विश्लेषणमा दख्खल रहेको छ ।
प्रतिक्रिया