नेप्सेको सीईओमा आवेदन मागियो, यस्तो हुनुपर्छ योग्यता र अनुभव

175
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ का प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा दरर्खास्त आह्वान गरिएको छ । सरकारले खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने भन्दै इच्छुक प्रतिस्पर्धीबाट आवेदन माग गरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार मात्र सीईयो नियुक्त गर्नका लागि तीन सदस्यीय समिति गठन गरेका थिए । भोलिपल्टै समितिले आवेदन आह्वान गरेको हो ।

सीईओ पदका लागि निवेदन दिने व्यक्ति अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी गरेको हुनु पर्नेछ ।

त्यस्तै पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा १५ वर्षको कार्य अनुभव गरेकाले निवेदन दिन पाउनेछन् ।

निवेदन दिने व्यक्ति ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ भने भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको व्यक्तिहरुले उक्त पदका लागि निवेदन दिन पाउने छैनन् ।

उक्त पद नियुक्तिका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको छ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको भएको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन् ।

कृष्णबहादुर कार्कीको कार्यकाल फागुन २ गते नै सकिएयता नेप्सेमा व्यवस्थापन प्रमुखबिहिन छ ।