![](https://clickmandu.com/wp-content/uploads/2025/02/pradeep-yadhav2-768x432.jpg)
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादव मेलम्ची खानेपानीको पाइप फुटेर जलमग्न भएको बबरमहल क्षेत्रको निरीक्षणका लागि पुगेका छन् ।
आज दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको उनले जनाएका छन् ।
कार्यक्रमको लागि पोखरामा पुगेका मन्त्री यादव पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको खबर पाउनासाथ तत्काल काठमाडौं फर्किएका थिए ।
पाइप फुटेर पानी बगिरहेको ठाउँ बबरमहल पुगेका मन्त्री यादवले पानी बन्द गर्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड, पिआइडी प्रमुखलाई निर्देश दिएको जानकारी दिए ।
![](https://clickmandu.com/wp-content/uploads/2025/02/babarmahal-sadak-melamchi-768x432.jpg)
अहिले करिब ५० प्रतिशत पानी घटिसकेको उनले जनाए । मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य, केयूकेएलका सीईओ अशोककुमार पौडेल, पिआइडीका प्रमुख टिकाबहादुर चौधरीसहित मन्त्रालयको टोली पानी निकास र रोकथामका लागि बबरमहल क्षेत्रमा पुगेको हो ।
पानीले उक्त क्षेत्रमा सवारीसाधनहरू डुबानमा परेको तथा आवतजावतमा समस्या उत्पन्न भएको छ ।
पानी चुहावट भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई भल्भ बन्द गर्न तथा वासआउट खोल्न निर्देशन दिएको मन्त्री यादवले जनाएका छन् ।
![](https://clickmandu.com/wp-content/uploads/2025/02/badi-pani-melemchi-babarmahal1-768x403.jpg)
हाल उक्त क्षेत्रमा पानी आपूर्ति बन्द गरिएको छ । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेको घटनाले आफूलाई दुखि बनाएको उनको भनाइ छ ।
शीघ्र मर्मत कार्य गरी जनजीवन सुचारु गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया