मेलम्चीको पाइप फुट्यो, बबरमहलमा कार्यालय डुबानमा (तस्बिरहरू)


काठमाडौं । मेलम्ची खानेपानी आपूर्ति सञ्जालको पाइप फुट्दा काठमाडौंको बबरमहलमा बाढी नै आएको छ ।

बुधबार दिउँसो करिब २:३० बजे मेलम्ची खानेपानीको पाइप फुटेपछि वन परिसरमा पानी पसेको छ । सोही क्षेत्रमा जिल्ला अदालत काठमाडौं र विशेष अदालत रहेको हुँदा त्यहाँ पनि पानी पसेको जानकारी प्राप्त भएको छ ।

सडकमा पानी निस्किएपछि यातायात प्रभावित भई जाम सिर्जना भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले मेलम्ची खानेपानी आपूर्ति सञ्जालको कुनै एक पाइप फुटेको बताए ।

‘नियमित आपूर्तिका लागि प्रयोग हुने पाइप फुटेको हो वा थोक वितरण प्रणाली (बिडिएस) को पाइप हो भन्ने यकिन भइसकेको छैन,’ पौडेलले बताए ।

पाइप फुटेर जलमग्न भएको क्षेत्रको वितरण प्रणाली हाल बन्द गरिएको छ। उनले घटनाबारे बुझ्न प्राविधिक टोली परिचालित भइसकेको जानकारी गराएका छन् ।