‘हरहर महादेव’ सडकमा चक्कु लिएर हिँडेका व्यक्तिले प्रहरीमाथि हान्न खोजे, युवक पक्राउ


धनगढी । मंगलबार राति सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको ट्राफिक चोकमा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको छ ।

राति करिब ८ बजेको समयमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिँडिरहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रतिकार गरेका थिए । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा प्रहरी उनलाई नियन्त्रणमा लिन खोज्दा युवकले चक्कु प्रहार गर्न खोजेको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार ती युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ । पक्राउ पर्ने व्यक्ति धनगढी उपमहानगरपालिका–१४ बसोबास गर्ने ३६ वर्षीय टेकबहादुर टमटा हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनलाई भारतीय नागरिक भएको भनिए पनि पछि उनी नेपाली नागरिक भएको खुलेको छ । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रहरीले टेकबहादुर टमटा मानसिक रूपमा अस्वस्थ रहेको आशंका गरिएको जनाएको छ ।