नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पारित


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य नाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको २१.०५ प्रतिशत लाभांश पारित गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभामा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले प्रस्तुत गरेको आव २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरेकाे छ । यस सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

२०८१ असोज मसान्तसम्ममा कम्पनीको लगानी २ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २ खर्ब ८ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब बढी रहेको छ । कम्पनीले हालसम्म २ खर्ब ८८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ८४ अर्ब दावी भुक्तानी गरेको छ ।