टेकुमा कबाडी संकलन केन्द्रमा काठमाडौं महानगरको डोजर, झडपमा ५ जना घाइते


काठमाडौं । टेकुस्थित कबाडी संकलन केन्द्रमा महानगर प्रहरीले आइतबार डोजर चलाएको छ । त्यसक्रममा कवाडी संकलनका मजदुर र नगर प्रहरीबीच झडप समेत भएको छ ।

महानगर प्रहरीको टोलीले कवाडी गोदाम हटाउने प्रयास गर्दा व्यवसायी र मजदुरहरूले अवरोध गरेका थिए । त्यसक्रममा झडप भएको थियो ।

झडपमा तीन जना कबाडी मजदुर र दुई जना नगर प्रहरी घाइते भएका छन्। महानगर प्रहरीले घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको जनाएको छ ।

टहरा भत्काउन पुगेको महानगरको टोलीमाथि कबाड मजदुर र व्यवसायीले बोतल प्रहार गरेपछि तनाव भएको महानगर प्रहरीको भनाइ छ ।

कबाडी व्यवसायीहरू भने आफूहरूको जीविकोपार्जन संकटमा परेको भन्दै निरन्तर महानगरको कदमको विरोध गरिरहेका छन् ।