खानेपानी मन्त्रालयमा आगलागी : ३ कोठाका सम्पूर्ण सामान जलेर नष्ट, ५० लाख रुपैयाँको क्षति


काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान भएको आगलागीका कारण उक्त मन्त्रालयको चौथो तलाका तीनवटा कोठामा क्षति पुगेको छ ।

तीनवटा कोठामा रहेको भौतिक संरचनाका साथै कागजपत्र जलेर नष्ट भएको छ । चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो । आगलागीको कारण मन्त्री प्रदीप यादवको कार्यकक्ष ध्वस्त भएको छ ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान ८ बजे आगलागी भएको थियो । घटना शंकास्पद भएकाले प्रहरीले मन्त्रालयका दुई कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ शुरू गरेको छ।

आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । शुक्रबार बिद्युतको तार जलेकोजस्तो गन्ध आएको बिषयमा आफुले कार्यालय सहयोगीलाई जानकारी गराएको उनले जानकारी दिए ।

पानी तताउने मेसिन होला भनेर ध्यान नदिंदा आज भने आगलागी भएको उनले बताए ।

मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार खानेपानीमन्त्री यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । अति आवश्यक डकुमेन्टमा भने कुनै क्षति नभएको उनले दाबी गरे ।

दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाख रुपैयाँसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खानेपानी मन्त्रालय पुगेका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताए । विद्युत् सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

शुक्रवारदेखि नै विद्युत् सर्ट भएको गन्ध आएको र आज आगलागी भएको हुनसक्ने उनले आशंका गरे । ठुलो क्षति हुनबाट जोगिएको उनको भनाई छ । अब मन्त्रालयको पूरा भवनमै विद्युत् वायरिङको जाँच हुने उनले बताए ।

बारुणयन्त्रको सहायताले १५ मिनेटमै आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागी लागेको कारण भने अहिले खुलेको छैन् ।