सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी, क्षति विवरण आउन बाँकी


काठमाडौं । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो ।

दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको छ । आगो लाग्नेबित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको अपिल बोहराले जानकारी दिए ।

घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको एसपी बोहराले जानकारी दिए । क्षतिको विवरण संकलन भइरहेको छ ।

उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।

विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।