![](https://clickmandu.com/wp-content/uploads/2022/10/dead.jpg)
झापा । झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेष्ट होटल एण्ड लजमा बसेका एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दका अनुसार मृतक ३० वर्षीय सागर बेस्रा हल्दिबारी गाउँपालिका-१ गोलधापका बासिन्दा हुन् ।
उनीसँगै सुनसरीको धरान उपमहानगरपालिका-१५ घर भई हाल कन्काई नगरपालिका-७ दुर्गापुरमा बस्दै आएकी २३ वर्षीया मुना विक पनि होटलमा बसेकी थिइन् ।
बिहीबार राति ११ बजे होटलमा प्रवेश गरेका उनीहरू राति खाना खाएपछि सुतेका थिए । तर पछि सागर बेस्रालाई शौचालयको ढोका छेउमा लडेको अवस्थामा फेला पारिएको थियो ।
मुना विक र होटल सञ्चालक यामकुमारी उप्रेतीले सागरलाई तत्काल उद्धार गरी बिर्तासिटी अस्पताल लगेका थिए । तर चिकित्सकले राति १:३५ बजे उनलाई मृत घोषित गरे ।
यस घटनापछि प्रहरीले मुना विक र होटल सञ्चालक उप्रेतीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया