तरबारले केक काटेको भिडियो भाइरल: आतंक फैलाएको भन्दै ७ जना पक्राउ


काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी गरेर पीडितलाई आतंकित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमा आतंक फैलाएको, समाजमा अशान्ति सिर्जना गरेको र आपराधिक क्रियाकलापपछि पीडितलाई डर र त्रासमा पारेको भन्दै विशेष अपरेशन सञ्चालन गरेको हो ।

यस्ता गतिविधिहरूमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेाक हुन् ।

पक्राउ पर्नेमा रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ, गोपाल मोक्तान र गुणबहादुर गुरुङ रहेका छन् ।

उनीहरुले ग्याङ देखाएर तरबार र हतियारहरूको प्रदर्शन गर्दै केक काट्ने भिडियो सामग्री सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

प्रहरीले आतंक सिर्जना गर्ने र गुण्डागर्दी गर्ने समूहलाई कडा कारबाही गर्ने जनाएको प्रहरी यसका लागि विशेष टोली गठन गरेर अपरेशन सुरु गरेको हो ।

पछिल्लो समय आपराधिक समूहको शैली फेरिएको र त्यसको आधारमा गतिविधि हुने गरेको पाइएको प्रहरी अधिकारीको भनाइ छ ।