काठमाडौं । प्रेस काउन्सिलले झापा घटनामा अतिरञ्जित गरी सामग्री सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई कारबाही गरेको छ ।
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमले सञ्चालन गर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै मिडियाको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको समेत प्रवृत्तिगत अनुगमन गरिरहेको जनाएको छ ।
पछिल्लो समय कतिपय सामाजिक सञ्जाल (युट्युब /फेसबुक पेज ) बाट झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ सत्यतथ्य पत्ता नलागिसकेको अवस्थामा आफूखुशी सामग्री सम्प्रेषण भइरहेको काउन्सिलले जनाएको छ ।
पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो /तस्बिरहरूसमेत राखी अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ अतिरञ्जित गरी सामग्री सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको काउन्सिलले जनाएको ।
यसरी एथेष्ठ तथ्य प्रमाणबेगर भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या / बेइज्जती/मानहानी गर्ने र वैयक्तिक गोपनीयताको उल्लंघन हुने सामग्री सम्प्रेषण भइरहेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले यस घटनासँग सम्बन्धित रहेर आधार प्रमाण पुष्टि नभएको विषयमा वैयक्तिक गोपनीयता प्रतिकूल हुने किसिमबाट पीडित र आरोपितको नाम, वतन, तस्बिर तथा भिडियो सामग्री सम्प्रेषण गरी पीडित र पीडितका परिवारलाई थप पीडा पुग्ने र सार्वजनिक संवेदनशीलतामा असर पर्ने सामग्री सम्प्रेषण गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४ (९), ५(२) (२), ५(४) र ५ (१३), महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ को ५ ( ८), (९), जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका, २०७८ को ४ ( क, ख, ङ र झ) र वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा (३) उल्लङ्घन गर्ने ३८ वटा युट्युब च्यानललाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिता गम्भीर उल्लङ्घन गरेका तर आफ्ना सम्पर्क विवरण नराखेका तथा मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरी ( साइबर ब्युरो) मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।
प्रतिक्रिया