कस्तो छ देशको आर्थिक अवस्था ? (पूर्णपाठ)


काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५. ४१ प्रतिशत रहेको छ ।

आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशले बढेको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थिति २४९ अर्ब २६ करोडले बचतमा रहेको तथ्यांकमा उल्लेख छ ।

कुल विदेशी वनिमय सञ्चिति १६ अर्ब ८४ करोड अमेरिकी डलर पुगेको छ भने नेपाल सरकारको खर्च ६६७ अर्ब ६० करोड र राजस्व परिचालन ५५९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

वैदेशिक रोजगारीमा जाने बढ्दै जाँदा पनि रेमिट्यान्स वृद्धि रोकियो

पछिल्ला दुई आर्थिक वर्षमा लगातार उच्च वृद्धि देखिएको विप्रेषण आप्रवाह (रेमिट्यान्स) चालु आर्थिक वर्षमा भने गत वर्षकै अवस्थामा देखिन लागेको छ । अमेरिकी डलरको विनियदर लगातार बढ्दै जाँदा पनि चालु आर्थिक वर्षमा भने रेमिट्यान्समा उल्लेख्य वृद्धि नदेखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

डलरको विनियम दर बढ्दा चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्तसम्म) ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन गत आवको सोही अवधिको तुलनमा ४.१ प्रतिशतले बढी हो । सोही अवधिमा डलरमा भने भने रेमिट्यान्स १.१ प्रतिशतले मात्रै बढेको छ । डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै जाँदा नेपाली मुद्रामा रेमिट्यान्सको वृद्धि उच्च देखिएको हो ।

मंसिरसम्म ६ खर्ब ४० अर्ब ४३ करोड रहेको रेमिट्यान्स पुसमा १ खर्ब २२ अर्ब ४३ करोड रेमिट्यान्स आएको हो । चालु आवको ६ महिनाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

वैदेशिक रोजगारीमा जाने र पुन श्रम स्वीकृत लिने नेपालको संख्या बढ्दै जाँदा पनि रेमिट्यान्सको वृद्धिदरमा भने रोक लागेको हो । चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । गत आवकोसोही अवधिमा वैदेशिक रोजगारीमा जान अन्मि श्रमस्वीकृत लिने नेपालीको संख्या २ लाख ६ हजार ३९० र पुन श्रम स्वीकृति लिनेको संख्या १ लाख ३३ हजार ९४० थियो ।

शोधनान्तर स्थिति साढे २ खर्ब बचतमा पुग्दा चालु खाता बचत करिब डेढ खर्ब

भुक्तानी सन्तुलन (शोधनान्तर बचत) करिब साढे २ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनामा आयातमा केही वृद्धि भएपनि सोही अनुसार निर्यातमा पनि वृद्धि र विनियमदरमा भएको परिवर्तनले गर्दा रेमिट्यान्समा पनि सामान्य वृद्धि हुँदा पुसमा पनि शोधनान्तर बचतमा वृद्धि देखिएको हो ।

पुस मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्स गत वर्षको भन्दा केही बढ्दा पनि आयातमा भएको वृद्धिले अघिल्लो वर्षको सोही अवधिको भन्दा शोधनान्तर बचत केही घटेको छ । गत आव २०८०/८१ को पुससम्म शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो ।

चालु खाता बचत पनि करीब डेढ खर्ब नजिक पुगेको छ । पुस मसान्तमा चालु खाता बचत १ खर्ब ४८ अर्ब १७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा थियो ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ११ करोड रहेको थियो । ६ महिनामा ६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५४ करोड थियो ।

विदेशी विनियम सञ्चिति १६ अर्ब ८४ करोड डलर पुग्यो

सरकारको विदेशी मुद्रा राख्ने ढुकुटीमा २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म यति रकम बराबरको विदेशी विनिमय सञ्चिति पुगेको हो।

विदेशी मुद्रा सञ्चिति गत असारको तुलनामा १३.५ प्रतिशतले बढेको छ । असारमा नेपालसाँ २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा रहेकामा पुसमा भारी मात्राले विस्तार भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा मापन गर्दा असारमा विदेशी मुद्रा १५ अर्ब २७ करोड डलरबराबरको मात्र थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ । २०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ ।

आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

असोज मसान्तमा विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब, कात्तिकसम्म २२ खर्ब ५५ अर्ब र २२ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको थियो ।

कर्जाको ब्याजदर ३९ महिना यताकै सस्तो

वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर ३९ महिना यताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा बैंकहरुले कर्जा प्रवाह गर्दा लिने भारित औषत ब्याजदर ८.६९ प्रतिशत थियो ।

३९ महिना पछि अर्थात पुस मसान्तसमा पनि बैंकहरुको भारित औषत ब्याजदर ८.६९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत रहेको छ ।

यस्तै विकास बैंकहरुको १०.१० प्रतिशत र वित्त कम्पनीहरुको ११.१० प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.३८ प्रतिशत, विकास बैंकहरुको १३.१४ प्रतिशत र वित्त कम्पनीहरुको १४.०९ प्रतिशत रहेको थियो ।

यस्तै २०८१ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत रहेको छ । यता विकास बैंकहरुको ५.५६ प्रतिशत र वित्त कम्पनीहरुको ६.६६ प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरुको ९.६२ प्रतिशत कायम भएको थियो ।

२०८० पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.३७ प्रतिशत रहेको थियो । २०८१ पुसमा २.८१ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० पुसमा २.८६ प्रतिशत रहेकोमा २०८१ पुसमा ३ प्रतिशत थियो ।

२०८१ पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरुको ८.६१ प्रतिशत र वित्त कम्पनीहरुको ९.५० प्रतिशत रहेको थियो ।

२०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरुको १२.७७ प्रतिशत रहेको थियो ।

नेपाली विदेश अध्ययन गर्न जाँदा बाहिरियो ५७ अर्ब

चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली विद्यार्थी अध्ययनका लाग विदेशमा जाँदा उक्त रकम बैंकिङ प्रणाली मार्फत बाहिरिएको हो ।

अघिल्लो आवको सोही अवधिमा यस्तो रकम ५८ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनामा नेपालीहरुले विदेश भ्रमणमा जाँदा १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो रकम ९२ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार ६ महिनाको अवधिमा खुद सेवा आय.४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत ६ महिनामा भ्रमण आय ५.१ प्रतिशतले बढेर ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रहेको थियो ।

Skip This