वनभोज स्थलजस्तो बन्यो मुख्यमन्त्रीको अध्यक्षतामा बसेको पर्यटन सम्बन्धी बैठक


विराटनगर । कोशी प्रदेश सरकारले २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गरेर १५ लाख विदेशी पाहुनालाई प्रदेशका पर्यटकीय स्थलमा डुलाउने योजना बनाएको छ ।

यसका लागि सरकारले करिब १० करोड बजेट विनियोजन गरेर पर्यटन वर्ष मनाउने तयारी गरेको छ । तर मूल आयोजक समितिको बिहीबारको पहिलो बैठक नै वनभोज स्थलजस्तै भएको सहभागीहरूको भनाइ छ ।

सहभागीहरूका अनुसार बिहीबार सुनसरीको कोशी टप्पुमा लाखौँ रुपैयाँ खर्चेर आयोजना गरिएको मूल समितिको पहिलो बैठकमा न एजेन्डा प्रस्तुत भए, न सुझाव नै संकलन भए । बैठकको अवस्था हेर्दा कोषको दुरुपयोगजस्तो देखिएको उनीहरूको भनाइ छ।

पर्यटन वर्ष मनाउन र सफल पार्न मुख्यमन्त्री हिकमतकुमार कार्कीको संयोजकत्वमा ५०० भन्दा बढी सदस्य रहेको मूल आयोजक समिति गठन गरिएको छ । समितिमा प्रदेशका मन्त्री, सांसद, कोशी प्रदेशका सबै स्थानीय तहका प्रमुखहरू, निजी क्षेत्रका संघ-संस्था, हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत सदस्य छन् ।

सरकारले पर्यटन वर्षको तयारीको सुरुवात भएको जनाउँदै मूल समितिको पहिलो बैठक बिहीबार सुनसरीको कोशी गाउँपालिका-३ स्थित अक्वा रिसोर्टमा (कोशी टप्पु) बसेको थियो । तर, उक्त बैठक निर्णयविहीन रहेको एक सहभागीले क्लिकमान्डुलाई बताए

उनकाअनुसार उक्त भेलामा कसैले पनि एजेन्डा प्रस्तुत गरेनन् भने सुझाव माग भएन ।
‘बैठकमा प्रदेशभरका सम्भावित पर्यटकीय क्षेत्रबारे चर्चा गरेर प्रवर्द्धनका विषयमा बहस हुनुपर्ने थियो,’ उनले भने ।

‘कोशी टप्पुमा पर्यटन वर्ष सम्बन्धी बैठक भनेर प्रदेश सरकारले बोलाएको थियो । तर, त्यहाँ पुग्दा राजनीतिक दलको आमसभाजस्तै देखियो,’ ती सहभागीले भने । उनका अनुसार बैठकमा १ हजारभन्दा बढी मानिसको घुइँचो थियो । ‘बैठकभन्दा पनि वनभोज स्थलजस्तो लाग्यो । सबै सहभागीले मासुभात खाएर फर्किए । त्यो भीडमा मुख्यमन्त्री कार्कीले आफ्नो भाषण दिँदै समितिका सदस्यलाई कार्यक्रमलाई सफल बनाउन आग्रह गरे।’

आयोजकले बैठकमा सहभागी हुनेका लागि अक्वा रिसोर्टमा खानाको व्यवस्था गरेको थियो र ९०० जनालाई कुपन वितरण गरिएको थियो । रिसोर्टका सञ्चालक सुरज गिरीका अनुसार रिसोर्टमा १ हजारभन्दा बढीले खाना खाएका थिए ।

मूल समितिमा धेरै सदस्य भएकाले बिहीबारको बैठक घोषणा सभाजस्तो भएको कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविश श्रेष्ठले बताए । उनका अनुसार सभाले सदस्यलाई आ–आफ्नो स्थानबाट पर्यटन वर्षलाई सहयोग गर्न निर्देशन दिएको छ।

विश्व पर्यटन दिवसको अवसरमा गत सेप्टेम्बर २७ मा मुख्यमन्त्री कार्कीले कोशी पर्यटन वर्ष २०८२ घोषणा गरेर मूल समिति गठन गरेका थिए ।

वनभोज स्थलजस्तो भएको उक्त बैठकमा पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलले भारत, बंगलादेश, भूटान र चीनजस्ता मुलुकबाट पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको बताए । तर, सुनसरीका स्थानीय मण्डलले पर्यटन वर्षका नाममा कोशी टप्पुको सम्भावना र चुनौतीबारे एक शब्द पनि खर्चेनन् ।

कोशी टप्पु जंगली भैँसी (अर्ना) र चराको राजधानीका रूपमा चिनिन्छ । पछिल्लो तथ्यांकले यहाँबाट अर्ना र चराहरू लोप हुँदै गएको देखाएको छ ।

पर्यटन वर्षका लागि कोशी प्रदेश सरकारले ८२ वटा पर्यटकीय गन्तव्य तयार पारेको जनाएको छ । २०८२ वैशाख १ गते लालीगुराँसको राजधानी मानिने तेह्रथुमको तीनजुरेमिल्के, जलजलाबाट कोशी पर्यटन वर्ष २०८२ को औपचारिक सुरुवात गर्ने तयारी प्रदेश सरकारले गरेको छ।

Skip This