तीब्र रुपमा फैलँदै यौन खेलौना उद्योग, अर्बौं डलरको बजार, नेपालमा कस्तो छ अवस्था ?


सहरको व्यस्ततासँगै मानिसहरु परिवारलाई समय दिन भ्याइरहेका हुँदैनन् । यतिसम्म कि दम्पतीहरुले निजी समय बिताउन पनि पाइरहेका हुँदैनन् ।

यसवाहेक स-साना कुराहरुले जोडीहरुबीच बेमेल भएर सम्बन्धबिच्छेदका घटना दैनिक बढिरहेको विभिन्न तथ्यांकले देखाइरहेको छ । पति पत्नीबीच समय अभाव भएकै कारण कतिपय देशमा सन्तान जन्माउने क्रम पनि घट्दो क्रममा भएपछि कतिपय देशले त दम्पतीलाई सँगै समय बिताउन भन्दै छुट्टी दिन थालेका छन् ।

हालै मात्र जापानले परिवारका लागि समय छुट्याउन भन्दै काम गर्ने समय नै छोट्यायो । चीनमा पनि जनसंख्या घट्दो क्रममा भएपछि सन्तान जन्माउनका लागि विभिन्न योजना र सुविधा दिन थालिएको छ ।

यस्तो व्यस्तता र अस्तव्यस्त अवस्थाबीच मानिसहरु शारीरिक चाहना पूरा गर्न सेक्स टोइजको प्रयोग पनि व्यापक रुपमा बढिरहेको पाइन्छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले गरेका सर्वेक्षणले के देखाउँछन् भने पछिल्ला वर्षहरुमा सेक्स टोइजको प्रयोग तीब्र रुपमा बढिरहेको छ।

सेक्स टोइजको प्रयोगसँगै यसले एक विशाल बजारको आकार लिन थालेको छ । पछिल्लो तथ्यांक अनुसार २०२५ मा मात्रै सेक्स टोइजको बजार वृद्धि भएर ४१.९४ बिलियन अमेरिकी डलर पुगिसकेको छ । जवकि यसको बजार २०२४ मा ३८.१९ बिलियन डलर थियो ।

यसरी हेर्दा एकैवर्षमा ९.८ प्रतिशतले यसको बजार वृद्धि भएको देखिन्छ । यति मात्रै होइन यसको बजार आगामी दिनमा अझै वृद्धि हुनेवाला रहेको विज्ञहरु बताउँछन् ।

आगामी दिनहरुमा बजार वृद्धि भएर २०२९ सम्म पुग्दा यसको बजार ६०.१५ बिलियन अमेरिकी डलर पुग्ने आकलन गरिएको छ। अर्थात यो वृद्धि ९.४ प्रतिशतको वृद्धि हुनेछ ।

सेक्स टोइज मार्केटमा नयाँ आविस्कार

सेक्स टोइजको विश्व बजारमा हरेक वर्ष नयाँ नयाँ प्रयोग भइरहेका छन् । विशेषगरी सेक्स टोइजका उत्पादनहरु विदेश र नेपालमा पनि इकमर्स मार्फत विक्री भइरहेका छन् ।

अनलाइन बजारको व्यापकतासँगै यसको व्यापार ह्वात्तै बढेको पाइन्छ । सेक्स टोइजका उत्पादनहरु अनलाइनबाट अर्डर गर्ने होम डेलिभरी गर्ने प्रचलन नेपाल जस्ता विकासशील देशहरुमा पनि सामान्य जस्तै बन्न थाल्यो ।

यसैले पनि यसको व्यापार बढाइरहेको छ । यससँगै अब एआई बेस्ड सेक्स टोइजको पनि प्रयोग हुन थालेको छ । विशेषगरी अमेरिकासहित विकसित देशहरुमा एआईमा आधारित सेक्स टोइजको प्रयोग बढेको पाइन्छ ।

यस सम्बन्धी प्रमुख कम्पनीहरुले एआईमा आधारित सेक्स टोइजको उत्पादनमा ध्यान दिन थालेका छन् ।

२०२४ को जुलाइमा स्विडेनमा रहेको सेक्स टोइज उत्पादक कम्पनी लेजोले एआई मास्टरबेटर टोइजको नयाँ फिचर लन्च गरेको थियो । जसलाई कम्पनीले एआई अन्तरक्रियात्मक मोडमा आधारित टोइजको रुपमा परिचित गराएको थियो ।

कुन देशमा बढी व्यापार ?

नर्थ अमेरिकालाई सेक्स टोइजको सबैभन्दा ठूलो बजारको रुपमा चिनिन्छ । यसैगरी एसिया प्यासिफिक क्षेत्रलाई सबैभन्दा तीब्र रुपमा वृद्धि भएको बजारको रुपमा चिनिन्छ । यसवाहेक पश्चिम युरोप, पूर्वी युरोप, दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकामा पनि यसको बजार व्यापक बन्दैछ ।

यसैगरी सेक्स टोइजको बजार वृद्धि भएका प्रमुख देशहरुमा अस्ट्रेलिया, ब्राजिल, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, जापान, रुस, दक्षिण कोरिया, अमेरिका, बेलायत, क्यानडा, स्पेन लगायत छन् ।

के हो सेक्स टोइज ?

सामान्यतया मानिसहरुले शारीरिक यौन इच्छा पूरा गर्न आफ्नो इच्छा अनुसार मेसिन वा उपकरणको घर्षणले यौन इच्छा मेटाउने गर्छन् । तिनै उपकरण वा मेसिनलाई सेक्स टोइज वा यौन खेलौना भनिन्छ ।

नेपाली समाजमा भने यसको खरिद र प्रयोग मात्रै नभएर व्यापार गर्न पनि लजाउने वा हिचकिचाउने समय थियो । यद्यपि पछिल्लो समय व्यस्त सहरहरुमा यसको व्यापार वृद्धि हुदै गरेको देखिन्छ ।

विशेषगरी अनलाइन मार्फत सामान खरिद गर्ने चलन बढेपछि यस्ता खेलौनाहरु पनि अनलाइनबाटै अर्डर गर्ने प्रचलन बढेको हो । आम मानिसहरुमा यसलाई लिएर लाज र हिनतावोध हुने गरे पनि यौन परामर्शदाताहरुले भने यसलाई सुरक्षित रुपमा प्रयोग गर्दा अप्ठेरो मान्न नहुने बताउने गरेका छन् ।

खासगरी आफ्नो पार्टनर नभएको अवस्थामा यस्ता खेलौनाहरुको प्रयोग धेरै देशहरुमा सामान्य नै मानिन्छ । नेपालमा भने आम रुपमा यसको व्यापार नफैलिए पनि यस्ता सामग्रीको प्रचार र व्यापार अनौपचारिक रुपमा भइरहेको पाइन्छ ।
विश्वव्यापी रुपमा यस्ता सामग्रीको व्यापार गर्ने विशाल कम्पनीहरु पनि छन् । र ती कम्पनीले वार्षिक रुपमा अर्बौँको व्यापार गरिरहेका हुन्छन् ।

प्रमुख कम्पनीहरुमा रेकिट बेंकिसर ग्रुप, अन्सेल हेल्थकेयर एलएलसी, एडम एन्ड एभिल, एलएलसी, एलइएलओ स्विडेन एबी, क्रेभ इनोभेसन, तान्तुस, क्यालिफोर्निया इक्सोटिक नोभल्टीज एलएलसी, ब्याड ड्रागन, रक्स अफ लिमिटेड, लाइफस्टाइल हेल्थकेयर, फन प्याक्ट्री लगायत दर्जनौं कम्पनीहरुले यस्ता खेलौनाको व्यापक रुपमा व्यापार गरिरहेका छन् ।

ती कम्पनीहरुले समयसमयमा नयाँ प्रविधिको जडान गर्दै नयाँ खेलौनाहरु डिजाइन पनि गरिरहेका हुन्छन् । यसबीचमा दर्जनौं डिजाइनका मोडेलहरु तयार भइसकेका छन् । तर पनि विश्वभर सबैभन्दा अत्यधिक विक्री हुने मोडेल भने भाइब्रेटर नै मानिन्छ।

नेपालको बजार

नेपालको सन्दर्भमा काठमाडौंमा २०१० मा नै पहिलो सेक्स टोइज पसल आधिकारिक रुपमा दर्ता भएर सञ्चालनमा आएको थियो।

मन्जित पौडेल र प्रवीण ढकालले ‘स्विट सेक्रेट’नामको पसल सञ्चालन गरेका थिए । त्यसको केही समयपछि काठमाडौं बाहिरका सहरमा पनि व्यापार विस्तार गरेका थिए ।

त्यसबेला उनीहरुले कम्तीमा १५० आइटमका यौन खेलौनाहरु विक्री गर्थे । विशेषगरी चीनबाट ती खेलौना खरिद गरेर उनीहरुले आफ्नो व्यापार बढाएका थिए ।

२०१२ मा बीबीसी ग्लोबलमा प्रकाशित समाचार अनुसार त्यस कम्पनीले सञ्चालन भएको २ वर्षपछि नै मासिक रुपमा ३ देखि ४ लाखको व्यापार गरेको थियो ।

हालसम्म आइपुग्दा न्युरोड, ठमेल, झम्सीखेल लगायत स्थानमा र कतिपय अनलाइन बुकिङमा मात्रै सीमित भएर यस्ता सयौं व्यवसाय सञ्चालनमा छन् । कतिपय अवस्थामा भने दर्ता नभएर नै अनलाइनमै अर्डर गरेर फोनबाटै डेलिभरी गरिदिने हुनाले यसको ठ्याक्कै कति र कस्तो आकारमा उद्योग छ भनेर भन्न भने कठिन देखिन्छ ।

नेपाली बजारमा अनेक आकार र मूल्यका यौन खेलौनाहरु पाइन्छ । सामान्य खेलौना ७/८ सय रुपैयाँदेखि ७०–८० हजार रुपैयाँसम्म पर्ने गर्छ । यसमा महिला वा पुरुष अंग रहने गरेका छन् । ३५ देखि ४० प्रकारका विभिन्न साइज र प्रकृतिका कण्डम बजारमा पाइन्छन् ।