६ महिनामा ८ खर्ब २२ अर्बको आयात, सबैभन्दा बढी पेट्रोलियम पदार्थ


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँको आयात भएको छ । यस्तो आयात गत वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशतले बढेको भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकले देखाएको छ । गत वर्ष यो अवधिमा ७ खर्ब ६८ अर्ब रुपैयाँको आयात भएको थियो ।

तथ्यांकअनुसार यो अवधिमा निर्यात ९८ अर्ब रुपैयाँको भएको छ । गत वर्षको सोही अवधिमा निर्यात ३१.७८ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो ६ महिनामा ७४ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

यो अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । नेपालमा सबैभन्दा बढी मूल्यको आयात हुनेको सूचीमा पेट्रोलियम पदार्थ पर्छ । पेट्रोलियम पदार्थ पछिल्लो ६ महिनामा १ खर्ब २५ अर्ब रुपैयाँको आयात भएको देखिएको छ ।

आयात बढ्दा नेपालको ब्यापार घाटा ७ खर्ब २३ अर्ब रुपैयाँको छ । यस्तो व्यापार घाटा गत वर्षको पहिलो ६ महिनामा ६ खर्ब ९३ अर्ब रुपैयाँको थियो । नेपालको कुल वैदेशिक व्यापारमध्ये ८९.२८ प्रतिशतको आयात हुने गरको छ भने १०.७२ प्रतिशतको मात्रै निर्यात हिस्सा रहेको छ ।