मुगु कर्णाली र किमाथांका अरुणको लगानी जुटाउन निकालिएको प्रस्ताव रद्द, ‘योग्य कम्पनी भेटेनौं’
काठमाडौं । विद्युत उत्पादन कम्पनीले साढे ५ खर्ब रुपैयाँभन्दा बढी लागत भएका परियोजनामा लगानीका लागि आह्वान गरेको प्रस्ताव रद्द गरेको छ ।
कम्पनीले परियोजनामा लगानी गर्न चाहाने इच्छुकहरुलाई पुस २३ गते १२ बजेसम्म आवेदन दिन सक्ने गरि सूचना निकालेको थियो । उक्त प्रस्तावमा ६ वटा कम्पनीले आवेदन दिएका थिए ।
किमाथांका अरुणमा बेला नेपाल इन्डस्ट्रिज प्रालि, भिजन इनर्जी एण्ड पावर प्रालि, एन जे हाइड्रो इनर्जी प्रालि, नोबल ग्रुप अफ हाइड्रो इनर्जी प्रालि , अनक हाइड्रोपावर कम्पनी लिमिटेडले आवेदन दिएका थिए भने मुगु कर्णालीमा सिजी इनर्गो प्रालिको आवेदन परेको थियो । सिजी इनर्गो प्रतिनिधि सभा सदस्य समेत रहेका अर्बपति व्यवसायी विनोद चौधरीको हो ।
कम्पनीले वित्तीय लगानीका लागि सार्वजनिक सूचना निकालेर आशयपत्र माग गरेको थियो । कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट आयोजनाहरु विकास गर्न लागेको हो ।
५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग प्रस्ताव मागिएको थियो । सुरुमा १५ दिनभित्र प्रस्ताव पेस गर्ने गरी ८ गतेसम्म आवेदन दिन सकिने गरी प्रस्ताव आह्वान गरिएकोमा पछि १५ दिन समय थप गरिएको थियो । योग्य लगानीकर्ता नआएपछि प्रस्ताव रद्द गरिएको हो ।
‘हामीले योग्य लगानीकर्ता नपाएपछि ठेक्का रद्द गर्ने निर्णय गरेका छौं,’ विद्युत उत्पादन कम्पनीका एक अधिकारीले भने । विद्युत उत्पादन कम्पनीको सञ्चालक समितिको बैठकले यो ठेक्का रद्द गरेको हो ।
मुगु कर्णाली १९०२ मेगावाटको आयोजना जलाशययुक्त जलविद्युत् आयोजना हो । यो जलविद्युत् आयोजनाको सम्भाव्यता अधययन भइरहेको छ । यसको लागत ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाले ५८८८३.१ गिगावाट आवर उत्पादन गर्न सक्छ । कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत आयोजना सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध करिब २५० मिटर उचाईको हुने अनुमान छ । आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी ४ जिल्लामा निर्माण हुनेछ ।
किमाथांका अरुण जलविद्युत् आयोजनाको ४५४ मेगावाटको अर्ध जलाशय प्रकृतिको हुनेछ । यो परियोजना निर्माणका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
आयोजना संखुवासभाको भोट खोला गाउँपालिका-२ मा निर्माण हुनेछ । यो आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड हो । विस्तृत अध्ययन पूरा भइसकेको छ । यसका लागि ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
प्रतिवेदनअनुसार यो जलविद्युत आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १३.५८ प्रतिशत रहेको छ । रिटर्न अन इक्विटी (आरओई) १६.८२ प्रतिशत छ । प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ ।