५ खर्बभन्दा बढी लागतका २ ठूला हाइड्रोमा लगानी गर्न ६ कम्पनीले दिए आवेदन



काठमाडौं । विद्युत उत्पादन कम्पनीले साढे ५ खर्ब रुपैयाँभन्दा बढी लागत भएका परियोजनामा लगानीका लागि आह्वान गरेको प्रस्तावमा ७ कम्पनीले आवदेन दिएका छन् ।

कम्पनीले परियोजनामा लगानी गर्न चाहाने इच्छुक कम्पनीले पुस २३ गते १२ बजेसम्म आवेदन दिन सक्ने गरि सूचना निकालेको थियो । र आजै दिउँसो कम्पनीहरुको प्रस्ताव खोलिएको हो ।

कम्पनीले वित्तीय लगानीका लागि सार्वजनिक सूचना निकालेर आशयपत्र माग गरेको थियो । कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट आयोजनाहरु विकास गर्न लागेको हो ।

५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग प्रस्ताव मागिएको थियो । सुरुमा १५ दिनभित्र प्रस्ताव पेस गर्ने गरी ८ गतेसम्म आवेदन दिन सकिने गरी प्रस्ताव आह्वान गरिएकोमा पछि १५ दिन समय थप गरिएको थियो ।

१९०२ मेगावाटको मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजनामा लगानी जुटाउन मागिएको प्रस्तावमा ६ ऊर्जा उत्पादक कम्पनीले आवेदन दिएका छन् ।

बेला नेपाल इन्डस्ट्रिज प्रालि, भिजन इनर्जी एण्ड पावर प्रालि, एन जे हाइड्रो इनर्जी प्रालि, नोवल ग्रुप अफ हाइड्रो इनर्जी प्रालि , अनक हाइड्रोपावर कम्पनी लिमिटेडले किमाथांका अरुण आयोजनामा आवेदन दिएका छन् भने मुगु कर्णालीमा
सिजी इनर्गो प्रालिको आवेदन परेको छ ।

मुगु कर्णाली १९०२ मेगावाटको आयोजना जलाशययुक्त जलविद्युत् आयोजना हो । यो जलविद्युत् आयोजनाको सम्भाव्यता अधययन भइरहेको छ । यसको लागत ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाले ५८८८३.१ गिगावाट आवर उत्पादन गर्न सक्छ । कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत आयोजना सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध करिब २५० मिटर उचाईको हुने अनुमान छ । आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी ४ जिल्लामा निर्माण हुनेछ ।

किमाथांका अरुण जलविद्युत् आयोजनाको ४५४ मेगावाटको अर्ध जलाशय प्रकृतिको हुनेछ । यो परियोजना निर्माणका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । आयोजना संखुवासभाको भोट खोला गाउँपालिका-२ मा निर्माण हुनेछ । यो आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड हो । विस्तृत अध्ययन पूरा भइसकेको छ । यसका लागि ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार यो जलविद्युत आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १३.५८ प्रतिशत रहेको छ । रिटर्न अन इक्विटी (आरओई) १६.८२ प्रतिशत छ । प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु