काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु प्रस्तुत गर्दै पारित गरिएको छ।
सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यसमध्ये ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गरिनेछ।
सभामा आ.व. २०८०/८१ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तनलगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरियो। बैंकले आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा नाफा ३३ प्रतिशतले वृद्धि गर्दै रु. ५०.०३ करोड पुर्याएको छ। अघिल्लो वर्ष बैंकको नाफा रु. ३७.७५ करोड रहेको थियो।
आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म बैंकको प्रति सेयर आम्दानी रु. १२ पुगेको छ भने पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत रहेको छ। शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत र लाभांश दर ७ प्रतिशत रहेको छ।
सभाका अध्यक्ष राजेश उपाध्यायले बैंकको वित्तीय प्रदर्शनमा भएको सुधारप्रति सन्तोष व्यक्त गर्दै ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिँदै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उहाँले बैंकका शेयरधनी, ग्राहक तथा अन्य सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै बैंकलाई अझ प्रतिस्पर्धी, सुदृढ र डिजिटलमैत्री बनाउन आवश्यक कदम चाल्ने बताए ।
प्रतिक्रिया