विराट एक्स्पोमा रोजगार कोशी पेभिलियन, बेरोजगार र रोजगारदाताबीच हुनेछ जमघट



विराटनगर । माघ दोस्रो साता सुरु हुने विराट एक्स्पोले रोजगारीको खोजीमा भौतारिएका युवा युवती र दक्ष कामदारको खोजीमा रहेका उद्योगी व्यवसायीलाई रोजगार कोशी पेभिलियनमा जमघट गराउने भएको छ । माघ ११ देखि २० गतेसम्म यहाँको डिग्री कलेजको मैदानमा हुने आठौं सस्करणको विराट एक्स्पोले यस्तो अवसर जुटाउने भएको हो ।

जमघटमा झण्डै दुई हजार युवायुवतीलाई करिअर काउन्सिलिङ गरेर प्रमाणपत्र दिनदेखि करियरको मार्गवृत्तिको अवस्था देखाउँदै उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने एक्स्पोको लक्ष्य छ । त्यति मात्र नभएर एक्स्पोले आईएलओले विकास गरेको अन्तर्राष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टलको व्यवस्था गरेर डिजटल कनेक्ट हुने व्यवस्था मिलाउने तयारी गरिएको एक्स्पोका सञ्चार विभाग प्रमुख तथा उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताए ।

त्यसका लागि एक्स्पो आयोजक उद्योग संगठन मोरङले एक्स्पोमा रोजगार कोशी पेभिलियनको व्यवस्था गर्ने तयारी गरेको छ । त्यो पेभिलियन विशेष गरेर हातमा शैक्षिक प्रमाणपत्र र सिप बोकेर रोजगारीका लागि भौतारिएका युवायुवतीलाई दक्ष कामदार र कर्मचारीको खोजीमा रहेका रोजगारदाता उद्योगी व्यवसायीसँग भेट गराएर रोजगारका अवसर सिर्जना गर्नमा लक्षित हुने एक्स्पो आयोजक उद्योग संगठन मोरङको छ ।

विराटनगरमा अहिले सम्म नाफामूलक औधोगिक र व्यापारिक मेला महोत्सव मात्र हुँदै आएको इतिहास छ । त्यो इतिहासलाई एक्स्पो आयोजक उद्योग संगठन मोरङले चिर्दै यस पटकदेखि डिजिटल कोशी ब्रिजिङ इनोभेसन एन्ड इन्भेस्टमेन्ट थिममा एक्स्पो आयोजना गर्दै छ ।

एक्स्पोले यसपटक विशेषगरी युवायुवतीहरुलाई उपयुक्त करिअर काउन्सिलिङ गरिनु पर्दछ भन्ने विषयलाई मुख्यरुपमा प्रोमोट गर्ने प्रयत्न स्वरुप रोजगार कोशी पेभिलियनको व्यवस्था गरेको हो । यस पेभिलियनमा हस्पिटालिटी, आईटी र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधिमा १८ सय जनालाई प्रत्यक्ष तालीम दिने, प्रमाणपत्र दिने, करियरको मार्गवृत्तिको अवस्था देखाउने, उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने कार्यक्रम रहेको छ ।

हस्पिटालिटी अन्तरगत बारिस्ठा र त्यसअन्र्तगत कफी बनाउने तालिम, आईटीमा सिसिटिभी बनाउने र इलेक्ट्रिोनिकमा मोबाइल मर्मतको तालिमका सबै पूर्वाधार सहित प्रत्यक्ष तालिम सञ्चालन गरिने छ । एक्स्पो अवधिमा हरेक दिन २ घण्टा अवधिको तालिम दिनहुँ ३ सिफ्टमा सञ्चालन गरिने छ । तालिमपछि प्रमाण पत्र सहित करियर ट्रि मार्फत आगामी दिनको करियरको बाटो देखाउने सचित्र प्रमाण पत्र पनि उपलब्ध गराईने छ । प्रत्येक दिन विज्ञहरुबाट करियर काउन्सेलिङको कक्षा लिइने व्यवस्था मिलाइने छ ।

एक्स्पोकै अवसरमा आयोजक उद्योग संगठनले तालिम लिएका प्रशिक्षार्थीका लागि आईएलओले विकास गरेको अन्तर्राष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टल राखी डिजटल कनेक्ट हुने व्यवस्था मिलाउने छ ।


क्लिकमान्डु