रवि लामिछाने फेरि हिरासतमा, प्रहरीको जिम्मा लगाउन अदालतको आदेश
काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ ।
जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएपछि उनलाई हिरासतमा पठाइएको हो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएपछि लामिछानेलाई हिरासतमा पठाइएको हो । लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।
प्रहरीले नै सोमबार लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ । लामिछाने आइतबार(आज) अदालतमा उपस्थित भएका थिए ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।
यसअघि लामिछानेलाई गत बिहीबार कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी अभियोगमा धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।